गल्छी–बेत्रावती खण्डमा ट्र्याक खुल्यो, बेली पुल एक साताभित्र

रसुवा बाढीले क्षति पुर्याएको गल्छी–बेत्रावती सडकखण्डमा ट्र्याक खुलेसँगै सर्वसाधारणको आवतजावत सुरु भएको छ। रसुवा जोड्ने मुख्य मार्ग रहेको यस खण्डमा ट्र्याक खोल्ने काम सम्पन्न भएको जानकारी पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले दिनुभएको छ। बाढीपछि करिब एक महिना लगाएर यो नयाँ ट्र्याक खोलिएको हो।
मन्त्रीको सचिवालयका अनुसार सडकको ग्रेड मिलाउने र ग्राभेल बिछ्याउने काम भने अझै बाँकी छ। निर्माणका बेला सवारीको बाक्लो आवतजावतले काम प्रभावित भएकाले मन्त्री लम्सालले सबैलाई सहजीकरण गर्न आग्रह गर्नुभएको छ। ट्र्याक खुलेपछि उक्त खण्डमा बेली पुल जडानको काम अघि बढाइएको छ।
नुवाकोटतर्फ पुलको जग तयार भइसकेको छ र नेपाली सेनाको सहयोगमा जडानको तयारी थालिएको छ। रसुवातर्फको जग निर्माण पनि अन्तिम चरणमा पुगेको मन्त्री लम्सालले बताउनुभएको छ। मन्त्री लम्सालका अनुसार एक साताभित्र बेली पुल जडान सक्ने लक्ष्यसहित कामलाई तीव्रता दिइएको छ।
यसैबीच गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनाले उत्तरगया विद्यालयदेखि बेत्रावतीसम्मको खण्डमा पैदल यात्रासमेत सीमित गरेको छ। आयोजनाका अनुसार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म हरेक दुई घण्टामा करिब १५ देखि २० मिनेट मात्र पैदल यात्रुलाई बाटो दिइनेछ। जुनसुकै बेला पैदल यात्रु हिँड्दा ट्र्याक खोल्ने काम ढिलो भएको आयोजनाको भनाइ छ।
सुरक्षाका कारण राति उक्त खण्डबाट यात्रा नगर्न आयोजनाले आग्रह गरेको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


