१५ असोज २०८३ English
English

कालीगण्डकी करिडोरसहित गुल्मीका मुख्य तीन सडक सञ्चालनमा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कालीगण्डकी करिडोरसहित गुल्मीका मुख्य तीन सडक सञ्चालनमा

YouTube मा सब्स्क्राइब

गुल्मीमा पहिरो र बाढीका कारण झन्डै एक साता अवरुद्ध रहेका तीन मुख्य सडक पूर्ण रूपमा सञ्चालनमा आएका छन्। कालीगण्डकी करिडोर, मदन भण्डारी राजमार्ग र रिडी–रुद्रवेणी–वामी सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भीमकिरण बोगटीले जानकारी दिनुभएको छ। लगातारको वर्षाले यी सडकका विभिन्न ठाउँमा पहिरो खसेको र कटान भएको थियो।

कालीगण्डकी गाउँपालिका–२ राक्सेसहित चार ठाउँमा पहिरो खसेपछि करिडोर अवरुद्ध भएको थियो। सत्यवती गाउँपालिकाको रुद्रवेणीदेखि हर्मिचौर–अर्बेनी–पुर्तिघाटसम्म थुप्रिएको माटो, लेदो र ठूला ढुङ्गा डोजर र एक्साभेटरले हटाइएको छ। कालीगण्डकी गाउँपालिका र सडक डिभिजन कार्यालय पाल्पासँगको समन्वयमा पहिरो पन्छाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बीरेन्द्रबीर विश्वकर्माले बताउनुभएको छ।

मदन भण्डारी राजमार्गको रुरुक्षेत्र गाउँपालिका–१ सालबिसौनामा केही दिनदेखि एकतर्फी चलेको सडक अब पूर्ण रूपमा खुलेको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताउनुभएको छ। रिडी–रुद्रवेणी–वामी खण्डअन्तर्गत चन्द्रकोट गाउँपालिका–७ सिस्नेभीरमा खसेको पहिरो हटाइएको छ। सोही खण्डको सत्यवती गाउँपालिका–६ उल्लीखोलामा भने बाढीले सडक कटान गरेको थियो।

सडक बन्द हुँदा तम्घास, बागलुङ, पाल्पा, बुटवल र पोखरा आवतजावत गर्ने यात्रुले सास्ती भोगेका थिए।

स्रोत

सम्बन्धित समाचार