१५ असोज २०८३ English
English

प्रधानमन्त्री शाहसँग अस्ट्रेलियाली राजदूतको भेट, जलवायु र विपद्मा सहकार्यबारे छलफल

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
प्रधानमन्त्री शाहसँग अस्ट्रेलियाली राजदूतको भेट, जलवायु र विपद्मा सहकार्यबारे छलफल

YouTube मा सब्स्क्राइब

नेपालका लागि अस्ट्रेलियाली राजदूत साइमन अर्न्स्टले प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार भएको भेटमा द्विपक्षीय सम्बन्ध, आपसी सहयोग, विपद् र जलवायु परिवर्तनबारे छलफल भएको छ। हालै रसुवामा आएको बाढी पहिरोले पुर्‍याएको क्षति, उद्धार र राहतबारे कुराकानी भएको राजदूत अर्न्स्टले जनाउनुभएको छ।

विपद्को कठिन घडीमा अस्ट्रेलिया सरकारले देखाएको ऐक्यबद्धता र सद्भावप्रति प्रधानमन्त्री शाहले कृतज्ञता व्यक्त गर्नुभएको छ। खोज, उद्धार र राहतमा अस्ट्रेलियाले सहायता टोली, विशेषज्ञ जनशक्ति, राहत सामग्री र उपकरण उपलब्ध गराएकोमा उहाँले धन्यवाद दिनुभएको छ। अस्ट्रेलियाले घोषणा गरेको मानवीय सहायतालाई प्रधानमन्त्रीले मित्रताको महत्त्वपूर्ण अभिव्यक्तिका रूपमा लिनुभएको छ।

बाढी प्रभावित समुदायको पुनःस्थापना, पुनर्निर्माण, विपद् जोखिम न्यूनीकरण र प्रतिरोध क्षमता बढाउन निरन्तर सहकार्य गर्ने विषयमा पनि छलफल भएको छ। शिक्षा, विकास सहयोग, व्यापार र नेपाली समुदायले दुई देशको सम्बन्ध बलियो बनाएको अस्ट्रेलियाली दूतावासले जनाएको छ। दूतावासले यो भेटलाई नेपाल–अस्ट्रेलिया सम्बन्धलाई निरन्तरता दिने कूटनीतिक संवादको हिस्सा भनेको छ।

विदेशी राजदूतसँग दुई पटक सामूहिक वार्ता गरिसकेका प्रधानमन्त्री शाहले यसअघि भारत, चीन र जापानका राजदूत तथा कार्यवाहक अमेरिकी राजदूतलाई पनि सिंहदरबार बोलाएर छलफल गर्नुभएको थियो।

स्रोत

सम्बन्धित समाचार