१५ असोज २०८३ English
English

दूरसञ्चार सेवाको गुणस्तरबारे सञ्चारमन्त्रीले प्राधिकरणसँग विवरण मागे, प्राधिकरणले फ्रिक्वेन्सी अपुग भन्यो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
दूरसञ्चार सेवाको गुणस्तरबारे सञ्चारमन्त्रीले प्राधिकरणसँग विवरण मागे, प्राधिकरणले फ्रिक्वेन्सी अपुग भन्यो

YouTube मा सब्स्क्राइब

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरबारे नेपाल दूरसञ्चार प्राधिकरणसँग विवरण माग्नुभएको छ। टेलिफोन र इन्टरनेट सेवा कमजोर भएको उपभोक्ता गुनासो नघटेपछि मन्त्री तिमिल्सिनाले बिहीबार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरे र सञ्चार सचिव राजेन्द्रकुमार पौडेलसहितका पदाधिकारीसँग छलफल गर्नुभएको हो।

छलफलमा सेवाको अवस्था, गुणस्तर परीक्षण, नियमन र सेवा विस्तारबारे जानकारी लिइएको छ। काठमाडौँ उपत्यकामै सेवा कमजोर हुनु गम्भीर विषय भएको मन्त्री तिमिल्सिनाले बताउनुभएको छ। भरपर्दो सेवा दिन नियामक र सेवा प्रदायक दुवै जिम्मेवार हुनुपर्ने उहाँको भनाइ छ।

उहाँले गुणस्तर अनुगमनको नियमित प्रतिवेदन मन्त्रालयमा बुझाउन र मापदण्ड पूरा नगर्ने सेवा प्रदायकमाथि कानुनअनुसार कडा कारबाही गर्न निर्देशन दिनुभएको छ। मन्त्रीले प्रश्न उठाएपछि प्राधिकरणले पर्याप्त फ्रिक्वेन्सी नभएको जनाएको छ। अध्यक्ष घिमिरेले बिहीबारै पत्रकार सम्मेलन गरेर दूरसञ्चार अत्यावश्यक सेवा बनिसकेकाले नियमन थप कडा र व्यवस्थित बनाइने बताउनुभएको छ।

उहाँका अनुसार भ्वाइस सेवा दिने अपरेटर ६ बाट घटेर दुईमा सीमित भएका छन् भने इन्टरनेट सेवा प्रदायकको सङ्ख्या बढेको छ। दूरसञ्चार क्षेत्रको कुल आम्दानी घट्दो क्रममा छ, तर डेटा सेवाबाट हुने आम्दानी भने बढेको छ। प्राधिकरणले आफ्ना कामकारबाहीबारे हरेक महिना सार्वजनिक जानकारी दिने घोषणा पनि अध्यक्ष घिमिरेले गर्नुभएको छ।

स्रोत

सम्बन्धित समाचार