चीनतर्फका तीनै व्यापारिक नाका ठप्प, चाडपर्वको आपूर्ति प्रभावित

बाढीपहिरोका कारण चीनसँग व्यापार हुने रसुवागढी, तातोपानी र कोरला तीनै नाका बन्द हुँदा दसैँ, तिहार र छठलक्षित सामानको आयात प्रभावित भएको छ। व्यवसायीका अनुसार चीनबाट आउने लत्ताकपडा, जुत्ताचप्पल, विद्युतीय र सजावटका सामान बाटोमै अड्किएका छन्। भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि रसुवागढी नाका पूर्ण रूपमा बन्द भएको छ।
त्रिशूली किनारको पासाङल्हामु राजमार्गका धेरै भाग कटान हुँदा रसुवागढी जाने मुख्य सडक अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ। चीनले भदौ १२ गतेदेखि तातोपानी नाका पनि बन्द गरेको जानकारी नेपाल सरकारलाई दिएको थियो। असोज ८ देखि ११ गतेसम्मको बाढीपहिरोले कालीगण्डकी करिडोरको सडक, बिजुली र सञ्चार अवरुद्ध हुँदा कोरला नाकाबाट पनि मालवाहक आउन रोकिएका छन्।
मुस्ताङको नेचुङ भन्सार कार्यालयमा जाँचपासको काम ठप्प हुँदा राजस्व असुलीमा असर परेको कार्यालय प्रमुख विदुर चुडालले बताउनुभएको छ। नेपाल हिमालय सीमापार व्यापार संघका अध्यक्ष रामहरि कार्कीले कोरलाबाट आउन लागेका करिब ५ सयदेखि ७ सय कन्टेनर चीनतर्फ रोकिएको बताउनुभएको छ। उहाँका अनुसार कोरला नाका अझै करिब १०–१२ दिन सञ्चालन नहुने देखिएको छ।
सरकारले तातोपानी नाका तत्काल खोल्ने पहल तीव्र पारेको छ। परराष्ट्र र अर्थ मन्त्रालय, भन्सार विभाग, सडक विभाग, सुरक्षा निकायका प्रतिनिधि र चिनियाँ दूतावासका अधिकारी सम्मिलित संयुक्त टोलीले मंगलबार अरनिको राजमार्ग हुँदै नाकासम्म पुगेर स्थलगत निरीक्षण गरेको छ। नेपालतर्फको सडकमा सवारी चलाउन सकिने देखिएकाले अब नाका खुल्ने विषय चिनियाँ पक्षको निर्णयमा निर्भर रहेको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

