१३ असोज २०८३ English
English

चार दिनपछि बीपी राजमार्ग खुल्यो, साना सवारी मात्र; कृष्णभीर दुईतर्फी, कान्ति लोकपथ एकतर्फी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
चार दिनपछि बीपी राजमार्ग खुल्यो, साना सवारी मात्र; कृष्णभीर दुईतर्फी, कान्ति लोकपथ एकतर्फी

YouTube मा सब्स्क्राइब

अविरल वर्षापछि आएको बाढीपहिरोले चार दिनदेखि अवरुद्ध बीपी राजमार्ग मङ्गलबारदेखि सञ्चालनमा आएको छ। तत्कालका लागि साना सवारीसाधनलाई मात्र आवतजावत गर्न दिइएको छ। चौकीडाँडा, कटुञ्जे, पिप्ले र माम्तीमा रोशी खोलाको बाढीले अस्थायी डाइभर्सन बगाएको थियो भने दाउन्ने–कालोपुल र चारसयबेँसीमा पहिरो खसेको थियो।

सडक खुलाउन सोमबार बिहानदेखि पहिरो पन्छाउने र डाइभर्सन बनाउने काम थालिएको थियो। सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार चौकीडाँडामा खोलाको बहाव उच्च भएकाले खानेपानी पम्प हाउस रहेको भित्री ट्र्याकबाट सवारी चलाइएको छ। बहाव घटेपछि त्यहाँ खोला किनारबाटै नयाँ डाइभर्सन बनाइने उहाँले बताउनुभएको छ।

बस, मिनीबस र ६ चक्के मालवाहक सञ्चालनका लागि केही घण्टा पर्खनुपर्ने कार्यालयले जनाएको छ। जोखिमयुक्त स्थानमा अहिले एकतर्फी आवागमन भइरहेको छ। यसैबीच पृथ्वी राजमार्गको कृष्णभीर खण्ड दुईतर्फी रूपमा खुलेको छ।

सडक खुलेसँगै रोकिएका एलपी ग्यास बुलेट र दैनिक उपभोग्य वस्तु बोकेका मालवाहक सवारीसाधन काठमाडौँ भित्रिन थालेका छन्। असोज ८ देखि ११ गतेसम्मको भारी वर्षाले पहिरो खसेर ठप्प काठमाडौँ र हेटौँडा जोड्ने छोटो मार्ग कान्ति लोकपथ पनि आजदेखि एकतर्फी रूपमा खुलेको छ। वर्षाका कारण उक्त सडकका केही भाग अझै जोखिमपूर्ण रहेकाले यात्रामा सावधानी अपनाउन सम्बन्धित निकायले आग्रह गरेको छ।

स्रोत

सम्बन्धित समाचार