१४ असोज २०८३ English
English

ककपिटमा पाइलटबीच झगडा, फ्लाईदुबईको दुबई–तेल अभिभ उडान साउदीमा अवतरण

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
ककपिटमा पाइलटबीच झगडा, फ्लाईदुबईको दुबई–तेल अभिभ उडान साउदीमा अवतरण

YouTube मा सब्स्क्राइब

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको यात्रुवाहक विमान ककपिटमा दुई पाइलटबीच झगडा भएपछि बुधबार साउदी अरबको ताबुकमा अवतरण गरिएको छ। बोइङ ७३७ म्याक्स ८ विमानको एफजेड १०७३ उडान बिहान करिब ७ बजेर ५ मिनेटमा दुबईबाट उडेको थियो। विमान बिहान करिब साढे ९ बजे तेल अभिभ नजिकको बेन गुरियन विमानस्थलमा पुग्ने तालिका थियो।

सञ्चार एजेन्सीका अनुसार विमानमा २७ बालबालिकासहित करिब १७४ यात्रु सवार थिए। उडेको करिब ९० मिनेटपछि जोर्डनको आकाशमा पुग्दा विमानले सामान्य आपत्कालको ७७०० सङ्केत र त्यसपछि अपहरण वा गैरकानुनी हस्तक्षेप जनाउने ७५०० सङ्केत पठाएको थियो। बीबीसी हिन्दीका अनुसार विमान ३४ हजार फिटबाट करिब दुई मिनेटमै १६ हजार ६ सय फिटमा झरेको थियो।

इजरायली च्यानल १२ का अनुसार केही समय विमानसँग सम्पर्क टुटेको थियो। सङ्केत आएपछि इजरायली वायुसेनाले लडाकु विमान परिचालन गरेको थियो। पछि अधिकारीहरूले घटना अपहरण नभई पाइलटबीचको विवादसँग जोडिएको स्पष्ट पारेका छन्।

फ्लाईदुबईले झगडाकै कारण विमान मोड्नुपरेको पुष्टि गर्दै सबै यात्रु र चालक दल सुरक्षित रहेको जनाएको छ। इजरायलका लागि अमेरिकी राजदूत माइक हकबीले ककपिटमा यस्तो झडप असामान्य भएको भन्दै ठूलो दुर्घटना टरेकामा राहत व्यक्त गर्नुभएको छ।

स्रोत

सम्बन्धित समाचार