९ असोज २०८३ English
English

बसाइँसराइसँगै बालबालिका बेचबिखनको जोखिम बढ्दै: अध्ययन प्रतिवेदन

· १ मिनेट पढाइ
बसाइँसराइसँगै बालबालिका बेचबिखनको जोखिम बढ्दै: अध्ययन प्रतिवेदन
तस्बिर: नागरिक

रोजगारी वा बसाइँसराइका क्रममा सीमान्तकृत परिवारका बालबालिका सीमापार मानव बेचबिखनको उच्च जोखिममा पर्ने गरेको अध्ययन प्रतिवेदनले देखाएको छ। द एसिया फाउन्डेसनले न्यू एरा र शक्ति समूहसँग मिलेर गरेको ३ वर्षे अध्ययनको प्रारम्भिक प्रतिवेदन सोमबार विराटनगरमा सार्वजनिक गरिएको छ। न्यू एराका डा.

जीवन बानियाँ र सचिन श्रेष्ठका अनुसार ऋण र सामाजिक दबाब सामना गर्न परिवार बसाइँ सर्दा बालबालिका यस्तो जोखिममा पर्ने गरेका छन्। गरिबी, पारिवारिक विघटन, हिंसा र शिक्षाको कमीका कारण १० वर्षसम्मका बालबालिकासमेत अनौपचारिक क्षेत्रमा काम गर्न पुगेको प्रतिवेदनमा उल्लेख छ। बालबालिका अपरिचित व्यक्ति वा सङ्गठित समूहबाट मात्र नभई साथी, परिवारका सदस्य र विश्वास गरिएका चिनजानका मानिसबाट पनि बेचबिखनमा पर्ने गरेको प्रतिवेदनको निष्कर्ष छ।

उद्धार र पुनर्स्थापनापछि पनि असर लामो समय रहने भएकाले प्रभावित बालबालिकालाई दीर्घकालीन सहयोग चाहिने प्रतिवेदनले औँल्याएको छ। शक्ति समूहकी संस्थापक सदस्य चरिमाया तामाङका अनुसार अध्ययनमा मनोरञ्जन क्षेत्रसँगै इँटाभट्टा, गलैँचा, तयारी पोसाक, जरी उद्योग र घरायसी काममा हुने जबरजस्ती बालश्रम समेटिएको छ। सामाजिक विकास मन्त्रालयकी निमित्त सचिव दुर्गा बरालले महिला र बालबालिकाका क्षेत्रमा सरकारको काम पर्याप्त नभएको बताउनुभएको छ।

प्रदेश योजना आयोग कोशीका सदस्य अनिल थापाले प्रदेशस्तरको तथ्याङ्क उपलब्ध भए आगामी नीतिमा समेटिने आश्वासन दिनुभएको छ।

यो समाचार भिडियोमा

बसाइँसराइसँगै बालबालिका बेचबिखनको जोखिम बढ्दै: अध्ययन प्रतिवेदन

स्रोत

सम्बन्धित समाचार