९ असोज २०८३ English
English

एसियाडमा नेपाल: महिला भलिबलमा हङकङसँग हार, करातेमा पनि निराशा

· १ मिनेट पढाइ
एसियाडमा नेपाल: महिला भलिबलमा हङकङसँग हार, करातेमा पनि निराशा
तस्बिर: नेपाल प्रेस

जापानमा चलिरहेको २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा हङकङले नेपाललाई ३-० को सोझो सेटमा हराएको छ। आज ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा भएको ९औँदेखि १२औँ स्थानसम्मको वर्गीकरण खेलमा हङकङले पहिलो सेट २५-२० र दोस्रो सेट २५-१९ ले जितेको छ। कडा प्रतिस्पर्धा भएको तेस्रो सेट पनि हङकङले २८-२६ ले आफ्नो पक्षमा पारेको छ।

यसअघि समूह चरणमा आयोजक जापान र इन्डोनेसियासँग हारेपछि नेपाल पदकको दौडबाट बाहिरिइसकेको छ। यो हारसँगै नेपाल ९औँ र १०औँ स्थानको प्रतिस्पर्धाबाट पनि बाहिरिएको छ। ११औँ स्थान निर्धारणका लागि नेपाल भोलि मङ्गोलियासँग भिड्नेछ।

नेपालले आज कराँते, बक्सिङ, कबड्डी, उसु र भलिबल गरी ५ विधामा भाग लिए पनि कुनै विधामा सफलता हात परेको छैन। कराँतेको महिला कुमिते ६८ केजी तौल समूहमा निरुपा दोङ तामाङ क्वार्टरफाइनलमा हङकङकी वोङ चेक लीसँग ३-० ले हार्दै बाहिरिनुभएको छ। इराकका अलि कासिम हामदान अलसारेले पुरुष ७० केजी बक्सिङमा दानबहादुर दर्लामीलाई ५-० ले हराएका छन्।

पुरुष कबड्डीमा समूह 'बी' को पहिलो खेलमै थाइल्यान्डले नेपाललाई ५९-४८ ले हराएको छ। महिला उसुमा १६ जना सहभागी स्पर्धामा सुष्मिता तामाङ १३औँ स्थानमा रहेर पदकको होडबाट बाहिरिनुभएको छ।

यो समाचार भिडियोमा

एसियाडमा नेपाल: महिला भलिबलमा हङकङसँग हार, करातेमा पनि निराशा

स्रोत

सम्बन्धित समाचार