एसियाडमा कांस्य जित्ने तेन्जिङ र महिला कबड्डी टोलीलाई नगद पुरस्कार

सरकारले जापानको आइची–नागोयामा भएको २०औँ एसियाली खेलकुदमा कांस्य पदक जित्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार दिने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिनुभएको छ। एसियाडमा कराते खेलाडी तेन्जिङ शेर्पा र महिला कबड्डी टोलीले नेपालका लागि कांस्य जितेका थिए।
महिला कबड्डी टोलीको यो लगातार दोस्रो कांस्य हो भने शेर्पाको पहिलो पदक हो। ओलम्पिक र एसियाडजस्ता प्रतियोगितामा पदक जित्नेलाई पुरस्कार दिने व्यवस्था राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ मा छ। उक्त नियमावलीमा एसियाडको व्यक्तिगत कांस्यका लागि १३ लाख र समूहगत कांस्य टोलीका प्रत्येक खेलाडीलाई ३ लाख ९० हजार रुपैयाँ दिने उल्लेख छ।
तर छनोट चरण पार गरेर पदक जित्नेलाई मात्र यो नियम पूर्ण रूपमा लागू हुने भएकाले यस पटकका विजेताले आधा रकम पाउनेछन्। यसअनुसार शेर्पाले ६ लाख ५० हजार र कबड्डीका प्रत्येक खेलाडीले १ लाख ९५ हजार रुपैयाँ पाउनेछन्। शेर्पाका प्रशिक्षक कुशल श्रेष्ठ र कबड्डीकी मुख्य प्रशिक्षक पार्वती राईले समान १ लाख ३० हजार रुपैयाँ पाउनेछन्।
कराते व्यवस्थापक युवराज लामा, कबड्डीका सहायक प्रशिक्षक लोक बहादुर विष्ट र व्यवस्थापक शरद दर्शनाधारीले समान ६५ हजार रुपैयाँ पाउनेछन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

