जापानमा हुने पाँचौँ एसियाली पारा खेलकुदका लागि नेपाली टोलीको बिदाइ

जापानमा हुने पाँचौँ एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीलाई शुक्रबार काठमाडौँमा बिदाइ गरिएको छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता र सदस्य मोनालिसा खम्बुले त्रिपुरेश्वरस्थित परिषद् भवनमा खेलाडीलाई शुभकामना दिँदै बिदा गर्नुभएको छ। आइची–नागोयामा अक्टोबर १८ देखि २४ सम्म हुने प्रतियोगितामा नेपालका ८ खेलका १९ खेलाडी उत्रिनेछन्।
तेक्वान्दोमा पलेशा गोबर्धन र रेनु तामाङ सहभागी हुनेछन्। एथलेटिक्समा प्रभा आङदेम्बे, श्रृष्टि धेवाजु, मोहन रोका, हिमाल अर्याल र राजु गुरुङ छन्। टेबलटेनिसमा केशव थापा र निर्मला भण्डारीसहित पाँच खेलाडी छन्।
पावर लिफ्टिङमा रजनी राई र पवन घर्ती मगर तथा पौडीमा जेनिशा कडायत र हर्कमान घर्ती छन्। ब्याडमिन्टनमा प्रकाश अधिकारी, जुडोमा संकल्प आचार्य र ह्वीलचेयर टेनिसमा रामबहादुर तामाङ प्रतिस्पर्धा गर्नेछन्। टोलीमा ८ खेलका ८ प्रशिक्षक र एक चिकित्सक पनि छन्।
एथलेटिक्सका प्रशिक्षक ओलम्पियन विमला राना मगर हुनुहुन्छ। टोलीको नेतृत्व दलप्रमुख केदारबाबु सिवाकोटीले गर्नुभएको छ। सिवाकोटीका अनुसार तेक्वान्दो र जुडो टोली शनिबार जापान प्रस्थान गर्नेछ र बाँकी टोली क्रमशः जानेछन्।
नेपालले पहिलो संस्करणदेखि भाग लिँदै आए पनि चार संस्करणमा १ पदक मात्र जितेको छ। चीनको हाङझाउमा भएको चौथो संस्करणमा पलेशा गोबर्धनले तेक्वान्दोमा कांस्य जित्नुभएको थियो। उहाँ पेरिस पारालिम्पिकमा पनि कांस्य पदक जित्ने खेलाडी हुनुहुन्छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो
