९ असोज २०८३ English
English

राष्ट्रसङ्घीय शान्ति मिसनमा थप सुरक्षाकर्मी पठाउन नेपाल तयार

· १ मिनेट पढाइ
राष्ट्रसङ्घीय शान्ति मिसनमा थप सुरक्षाकर्मी पठाउन नेपाल तयार
तस्बिर: नागरिक

संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा नेपालले थप जनशक्ति उपलब्ध गराउन तयार रहेको परराष्ट्रमन्त्री शिशिर खनालले बताउनुभएको छ। संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अवसरमा न्युयोर्कमा बुधबार भएको साइडलाइन भेटवार्तामा उहाँले यो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। शान्ति सञ्चालन विभागका उपमहासचिव जाँ–पिइरे लाक्रोइक्ससँगको भेटमा उहाँले राष्ट्रसङ्घको आवश्यकता र अनुरोधअनुसार नेपालले करिब १० हजारसम्म शान्ति सैनिक योगदान गर्न सक्ने जनाउनुभएको छ।

हाल विश्वका करिब १२ वटा राष्ट्रसङ्घीय शान्ति अभियानमा ४ हजार ३ सयभन्दा बढी नेपाली सेना तथा प्रहरीका सुरक्षाकर्मी परिचालित छन्। नेपाल सुरक्षाकर्मी पठाउने प्रमुख योगदानकर्ता राष्ट्रको अग्रपंक्तिमा रहँदै आएको छ। नेपाली शान्ति सैनिकप्रति राष्ट्रसङ्घले निरन्तर व्यक्त गर्दै आएको विश्वास र सहकार्यका लागि उहाँले आभार व्यक्त गर्नुभयो।

राष्ट्रसङ्घसँगको दीर्घकालीन सहकार्यलाई नेपालले उच्च महत्त्व दिएको उहाँको भनाइ छ। पारस्परिक विश्वास, सम्मान तथा सहकार्यमा आधारित यो सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउन नेपाल चाहन्छ। शान्ति अभियानमा परेको वित्तीय भार न्यूनीकरणका लागि नेपालले विभिन्न उपाय अवलम्बन गर्दै आएको उहाँले उल्लेख गर्नुभएको छ।

सुरक्षाकर्मीको कार्यावधि विस्तार, व्यावसायिक उडानबाट टोली परिचालन र सामग्री ढुवानीमा लचकता तीमध्ये पर्छन्।

यो समाचार भिडियोमा

राष्ट्रसङ्घीय शान्ति मिसनमा थप सुरक्षाकर्मी पठाउन नेपाल तयार

स्रोत

सम्बन्धित समाचार