११ असोज २०८३ English
English

नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकी पुलको पहुँचमार्ग बाढीले बगायो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकी पुलको पहुँचमार्ग बाढीले बगायो

YouTube मा सब्स्क्राइब

कालीगण्डकी नदीमा आएको बाढीले नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने मोटरेबल पुलको पहुँचमार्ग बगाएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। अविरल वर्षापछि बढेको नदीले पुलको नवलपुरतर्फको पहुँचमार्गसँगै जगसमेत कटान गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार बौदीकाली गाउँपालिका–२ डेढगाउँ र तनहुँको घिरिङ गाउँपालिका जोड्ने गण्डकी प्रदेश मार्गको सम्पर्क टुटेको छ।

पुलबाट अहिले सवारीसाधन मात्र होइन, पैदलयात्री पनि वारपार गर्न सकेका छैनन्। डेढगाउँबाट तनहुँको भिमाद हुँदै पोखरा पुग्ने यो सडक प्रदेश राजधानी पोखरा र नवलपुरबीचको सबैभन्दा छोटो मार्ग हो। यसै बाटो भएर स्थानीयबासी दैनिक स्याङ्जा, पोखरा, तनहुँ, नवलपुर र पाल्पा आवतजावत गर्दै आएका थिए।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज आइतबार गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुनसक्छ। यी दुवै प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। लुम्बिनीको तराईका केही स्थान र गण्डकीको तराईका थोरै स्थानमा पनि वर्षा हुने विभागको पूर्वानुमान छ।

पोखरामा वर्षाको सम्भावना ८० प्रतिशत रहेको विभागले जनाएको छ।

स्रोत

सम्बन्धित समाचार