११ असोज २०८३ English
English

विपद्को जोखिमले अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट दिन बन्द

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
विपद्को जोखिमले अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट दिन बन्द

YouTube मा सब्स्क्राइब

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, एक्यापले भारी वर्षा र हिमपातको जोखिम देखाउँदै पर्यटकलाई प्रवेशाज्ञा अर्थात् परमिट दिन रोकेको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको आयोजनाको पोखरास्थित प्रधान कार्यालयको निर्णयअनुसार यो रोक बिहीबारदेखि लागू भएको हो। मौसम नसुध्रिएसम्म रोक कायम रहने आयोजनाले जनाएको छ।

बिहीबारदेखि लगातार भारी वर्षा र हिमपात हुने पूर्वानुमानको सूचना राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएपछि यो निर्णय लिइएको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले बताउनुभएको छ। यो रोक मुस्ताङ, मनाङ, लमजुङ, म्याग्दी र कास्कीको उपल्लो भेग घुम्न जाने पर्यटकमा लागू हुन्छ। एक्यापले सामान्य अवस्थामा प्रवेश शुल्क अनलाइन प्रणालीबाट उठाउँदै आएको छ।

सडक अवरुद्ध भएर यात्रा जोखिमपूर्ण बनेका ठाउँमा कर्मचारीले पर्यटकको भौतिक उपस्थितिमा शुल्क लिएर सहजीकरण गर्ने कार्यालयले जनाएको छ। अवस्था सामान्य भएपछि पुरानै प्रणाली फेरि सुचारु गरिने प्रमुख गुप्तको भनाइ छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज आइतबार गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षा वा हिमपात हुनसक्छ।

गण्डकीका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। विभागको पूर्वानुमानअनुसार पोखरामा वर्षाको सम्भावना ८० प्रतिशत छ।

स्रोत

सम्बन्धित समाचार