सप्तरीमा बाढीले ५०० घर डुबानमा, दुई हजारभन्दा बढी परिवार प्रभावित

सप्तरीमा सप्तकोशी नदीको बाढी बस्तीमा पसेपछि करिब ५०० घर डुबानमा परेका छन्। लगातारको वर्षाले शुक्रबार राति नदीको सतह बढेपछि हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका बस्तीमा पानी पसेको हो। हनुमाननगर कङ्कालिनीका वडा नम्बर ५, ७, १२ र १३ मा करिब ४८३ घर डुबानमा छन्।
तिलाठी कोइलाडीका वडा नम्बर ४ र ५ मा करिब १७ घरमा पानी पसेको छ। बाढीबाट दुई हजारभन्दा बढी परिवार प्रभावित भएका छन्। नगर प्रमुख वीरेन्द्र माझीका अनुसार प्रभावितका लागि तत्काल बिहान र बेलुका दुई छाक खानाको प्रबन्ध गरिएको छ।
पानीको सतह घटेपछि पीडितको पहिचान गरेर थप राहत दिइने उहाँले बताउनुभएको छ। जल तथा मौसम विज्ञान विभागले शनिबार साँझ जारी गरेको पूर्वानुमानमा मधेश प्रदेशको तराईका धेरै स्थानमा मेघगर्जनसहित वर्षा र एक-दुई स्थानमा भारी वर्षाको सम्भावना औँल्याइएको थियो। आज आइतबार भने मधेश र कोशीको तराईमा आंशिक बादल लाग्ने र एक-दुई स्थानमा मात्र वर्षा हुने विभागले जनाएको छ।
उता बागलुङमा दुई दिनदेखिको अविरल वर्षाले कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गसहित दर्जनौँ ग्रामीण सडक अवरुद्ध भएका छन्। यसले गर्दा जिल्ला सदरमुकाम बागलुङ बजारसँगको सडक सम्पर्क टुटेको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


