श्रमिकको तलब समस्या बजेटबाट सम्बोधन गर्ने मलेसियाली प्रधानमन्त्रीको घोषणा

मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले श्रमिकको न्यून तलबको समस्या आगामी बजेटमार्फत समाधान गर्ने घोषणा गर्नुभएको छ। उत्पादकत्व बढे पनि श्रमिकको पारिश्रमिक सोहीअनुसार नबढेकोमा उहाँले असन्तुष्टि जनाउनुभएको छ। मलेसियाली दैनिक द स्टारका अनुसार प्रधानमन्त्री अनवरले कम्पनीहरूले अर्बौँ रिंगिट नाफा कमाइरहेका बेला कामदारको तलब पनि बढ्नुपर्ने बताउनुभएको छ।
मलेसियामा निजी क्षेत्रका श्रमिकको न्यूनतम मासिक तलब हाल करिब १ हजार ७ सय रिंगिट छ, जुन राष्ट्र बैंकले तोकेको ३७ रुपैयाँ ५६ पैसाको खरिद दरअनुसार करिब ६४ हजार रुपैयाँ हुन्छ। सरकारी स्वामित्वका लगानी कम्पनीअन्तर्गतका संस्थामा भने न्यूनतम तलब करिब ३ हजार १ सय रिंगिट पुर्याइएको उहाँले बताउनुभएको छ। प्रधानमन्त्री अनवरका अनुसार कतिपय कम्पनीका प्रमुख कार्यकारी अधिकृतले मासिक करिब ७० देखि ८० हजार रिंगिट तलब पाउँछन्।
उच्च तहका कर्मचारीले करिब ८ महिनासम्मको बोनस पाउँदा तल्लो तहकाले २ देखि ३ महिनाको मात्र पाउने गरेको उहाँले औँल्याउनुभएको छ। विश्वविद्यालयबाट स्नातक गरेका युवासमेत योग्यताअनुसार रोजगारी नपाएर मोबाइल एपमार्फत चल्ने ई–हेलिङ सवारी चलाउन बाध्य भएको उहाँले उल्लेख गर्नुभएको छ। उहाँले उत्पादकत्वसँगै तलब बढाउने दक्षिण कोरियाको उदाहरण दिँदै सरकारले कम्पनीहरूलाई प्रोत्साहन र आवश्यक परे दबाब दुवै दिने बताउनुभएको छ।
सन् २०२७ को बजेट आगामी अक्टोबर ९ मा संसदमा पेस हुँदैछ, तर नयाँ न्यूनतम तलब कति हुने भन्ने उहाँले खुलाउनुभएको छैन।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


