१७ असोज २०८३ English
English

एसियाली खेलकुद क्रिकेटमा पाकिस्तानलाई हराउँदै भारतलाई स्वर्ण, श्रीलङ्कालाई कांस्य

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
एसियाली खेलकुद क्रिकेटमा पाकिस्तानलाई हराउँदै भारतलाई स्वर्ण, श्रीलङ्कालाई कांस्य

YouTube मा सब्स्क्राइब

जापानमा जारी बीसौँ एसियाली खेलकुदको पुरुष क्रिकेटमा भारतले पाकिस्तानलाई फाइनलमा १९ रनले हराएर स्वर्ण पदक हात पारेको छ। निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा शनिबार भएको खेलमा भारतले टस जितेर ब्याटिङ रोज्दै ६ विकेटको क्षतिमा २११ रनको योगफल खडा गरेको थियो। ओपनर अभिषेक शर्माले २८ बलमा ७ छक्कासहित ६१ रन बनाए भने तिलक वर्मा २२ बलमा ५१ रनमा अविजित रहे।

शिवम दुबेले १५ बलमा २७ रन थपे। २१२ रनको लक्ष्य पछ्याउन ओर्लिएको पाकिस्तान पूरा २० ओभर खेलेर ६ विकेटमा १९२ रनमै रोकियो। पाकिस्तानका हसन नवाजले ५१ बल खेल्दै ५ चौका र ७ छक्काको मद्दतले ९६ रन बनाए, तर उनी इनिङ्सको अन्तिम बलमा आउट भए।

भारतीय बलिङमा अक्षर पटेल, वासिङ्टन सुन्दर र शिवम दुबे प्रत्येकले २ विकेट हात पारे। पाकिस्तानतर्फ अहमद दानियाल र अराफात मिन्हासको नाममा २–२ विकेट रहे। यो जितसँगै भारतले एसियाली खेलकुदको पुरुष क्रिकेटमा लगातार दोस्रो पटक स्वर्ण जितेको छ भने पाकिस्तान रजतमा सीमित भएको छ।

त्यसअघि शनिबार बिहानै भएको तेस्रो स्थानको खेलमा श्रीलङ्काले बङ्गलादेशलाई ६३ रनले हराउँदै कांस्य पदक जितेको छ। श्रीलङ्काको १६५ रनको जवाफमा बङ्गलादेश १०२ रनमै अलआउट भएको थियो। नेपाली टोली भने अन्तिम आठमा पुगेको थियो, तर श्रीलङ्कासँगको क्वाटरफाइनल वर्षाका कारण रद्द भएपछि बाहिरिनुपरेको थियो।

स्रोत

सम्बन्धित समाचार