९ असोज २०८३ English
English

प्राकृतिक विपद्ले हरेक वर्ष जीडीपीको ६ प्रतिशत क्षति: योजना आयोग उपाध्यक्ष

· १ मिनेट पढाइ
प्राकृतिक विपद्ले हरेक वर्ष जीडीपीको ६ प्रतिशत क्षति: योजना आयोग उपाध्यक्ष
तस्बिर: नागरिक

पछिल्लो प्राकृतिक विपद्बाट नेपालले कुल गार्हस्थ्य उत्पादन अर्थात् जीडीपीको करिब ६ प्रतिशत बराबर आर्थिक क्षति बेहोरेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले बताउनुभएको छ। शुक्रबार भएको राष्ट्रिय वित्तीय साक्षरता कार्यक्रममा उहाँले भूकम्पबाहेकका विपद्बाट यसअघि वार्षिक रूपमा जीडीपीको करिब २ प्रतिशत बराबर नोक्सानी हुने गरेको तथ्याङ्क रहेको बताउँदै पछिल्लो विपद्ले यो मात्रा उल्लेख्य रूपमा बढाएको उल्लेख गर्नुभएको छ।

उहाँका अनुसार उक्त विपद्सम्बन्धी हालसम्म उपलब्ध तथ्याङ्कले करिब ४ सय अर्ब रुपैयाँको क्षति र नोक्सानी देखाएको छ। विपद् र जलवायु परिवर्तनबाट आउने जोखिमलाई वित्तीय साक्षरता अभियानसँग जोडेर अघि बढाउनुपर्ने उपाध्यक्ष भट्टको भनाइ छ। वित्तीय सेवा र साक्षरता कार्यक्रममा वातावरणीय जोखिम पनि समेटेर लक्षित ग्राहकका साथै पिछडिएका क्षेत्र, समुदाय र महिला उद्यमीसम्म जानकारी पुर्‍याउनुपर्ने उहाँले बताउनुभएको छ।

सोही कार्यक्रममा अर्थसचिव डा. घनश्याम उपाध्यायले वित्तीय साक्षरता कमजोर हुँदा नेपालको वित्तीय क्षेत्रमा रहेको ठूलो सम्भावनाको पूर्ण उपयोग हुन नसकेको बताउनुभएको छ। सचिव उपाध्यायले वित्तीय साक्षरतालाई जोखिम व्यवस्थापनको साधनका रूपमा मात्र सीमित गर्न नहुने धारणा राख्नुभएको छ।

उहाँका अनुसार वित्तीय प्रणालीमा नगद प्रवाह र पैसाको चक्र जति बढ्छ, अर्थतन्त्रले त्यति नै फाइदा पाउँछ।

स्रोत

सम्बन्धित समाचार