रसुवा बाढीका बिमितलाई हदम्याद देखाएर दाबी रोक्न नपाइने, प्रारम्भिक प्रतिवेदनमै ५० प्रतिशत पेस्की

नेपाल बीमा प्राधिकरणले रसुवा बाढीबाट क्षति भोगेका बिमितको दाबी हदम्याद नाघेको कारण देखाएर मात्र अस्वीकार गर्न नपाइने व्यवस्था गरेको छ। बाढी आएको करिब एक महिनापछि प्राधिकरणले रसुवा बाढी दाबी भुक्तानीसम्बन्धी संक्षिप्त कार्यविधि, २०८३ जारी गरेको छ। यो कार्यविधि भदौ १० गतेको बाढीले असर पारेका रसुवा, नुवाकोट, धादिङ र चितवनका बिमितका लागि हो।
त्यस दिन ल्हेन्दे खोला, भोटेकोशी, त्रिशूली र नारायणी नदी प्रणालीमा बाढी आएको थियो। बाढी आउनुअघि नै जारी भई जोखिममा रहेका बीमालेखअन्तर्गतका सम्पत्ति, सवारीसाधन, परियोजना, व्यापारिक मौज्दात र मानवीय क्षतिका दाबीमा मात्र यो लागु हुने प्राधिकरणले जनाएको छ। कार्यविधिअनुसार पूर्ण रूपमा नष्ट भएका सवारीसाधन र अन्य सम्पत्तिमा बिमितले अनुमानित दायित्वको बढीमा ५० प्रतिशतसम्म अग्रिम भुक्तानी पाउनेछन्।
सवारीसाधन पूरै नष्ट भएको यकिन भएपछि तत्काल ५० प्रतिशत रकम दिइनेछ। बाँकी रकम दर्ता खारेजीको प्रमाणपत्र बुझाएको ७ दिनभित्र भुक्तानी गर्नुपर्नेछ। बीमा कम्पनीहरूले दाबीलाई छिटो, सरल र पारदर्शी ढङ्गले फर्छ्योट गर्नुपर्ने कार्यविधिमा उल्लेख छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो
