कालीगण्डकीको बाढी कुश्माको माझी बस्तीमा पस्यो

कालीगण्डकी नदीमा आएको ठूलो बाढीले पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गास्थित माझी बस्तीमा आइतबार क्षति पुर्याएको छ। बाढीले बस्तीका करिब आधा दर्जन टहरा र बङ्गुर फार्मसहितका संरचना बगाएको छ। तीन दिनदेखि लगातार वर्षा भएपछि प्रहरीले माइकिङ गरेर स्थानीयलाई सुरक्षित ठाउँमा सर्न आग्रह गरिरहेको थियो र बिहानै पानी पस्दा बासिन्दा भागेर सुरक्षित भएका थिए।
पर्वतकै जलजला गाउँपालिका–८ फर्सेमा मात्रै ६६ घर बाढीले बगाएका छन्। बिहीबार साँझदेखि सुरु भएको वर्षा शनिबार बिहानदेखि झन् तीव्र बनेको थियो। स्थानीय प्रशासन र बासिन्दाका अनुसार कालीगण्डकीमा पछिल्लो ३० वर्षयताकै ठूलो बाढी आएको छ।
म्याग्दीको बेनी नगरपालिका–१ आनन्दबगर र थाक्ने बगरमा क्षति पुगेको छ भने थाक्ने बगर बस्ती डुबानमा परेको छ। बेनी–जोमसोम सडक ठाउँठाउँमा भत्किएपछि मुस्ताङसँगको यातायात सम्पर्क टुटेको छ। अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा बिजुलीका पोल बगेका छन् र पोखरेबगर तथा नौली बगर जोड्ने पुल बगेको छ।
बेनी बजार जोगाउन बनाइएको पक्की तटबन्धको एक भाग पनि भत्किएको छ। बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको जगनजिकै पहिरो खसेपछि आवतजावत ठप्प भएको छ। स्याङ्जा, पर्वत र गुल्मीको संगमस्थल सेतीबेणी बजार पनि डुबानमा परेको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


