१० असोज २०८३ English
English

पृथ्वी राजमार्ग कृष्णभिरमा एकतर्फी खुल्यो, ११ राजमार्ग अझै अवरुद्ध, बीपीमा डाइभर्सन बनाउन थालियो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
पृथ्वी राजमार्ग कृष्णभिरमा एकतर्फी खुल्यो, ११ राजमार्ग अझै अवरुद्ध, बीपीमा डाइभर्सन बनाउन थालियो

YouTube मा सब्स्क्राइब

धादिङको कृष्णभिरमा पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग शनिबार दिउँसो साढे १२ बजेदेखि एकतर्फी रूपमा खुलेको छ। बेनीघाट रोराङ गाउँपालिका–७ का वडाध्यक्ष कुमार बस्नेतले थप पहिरो नखसे आजैबाट नियमित सञ्चालन हुने बताउनुभएको छ। भदौ १४ गते सडक भासिएपछि बनाइएको अस्थायी डाइभर्सन बिहीबार राति ढुंगासहितको पहिरोले बगाएको थियो।

चितवनतर्फ मुग्लिन–मौवाखोला खण्ड पनि एकतर्फी चलेको छ भने इच्छाकामना–४ धारापानीमा साना सवारी मात्र गुडिरहेका छन्। सडक विभागका अनुसार असोज ८ गतेदेखिको वर्षाले देशभरका ११ राजमार्गमा अवरोध रहेको छ। बीपी राजमार्गमा माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी र चौकीडाँडालगायत स्थानमा आवागमन ठप्प छ।

यो राजमार्ग नमोबुद्धको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्म पूर्ण रूपमा बन्द छ। सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार रोशी खोलाले बगाएका नमोबुद्ध–६ चौकीडाँडा, रोशी–७ घुमाउने र रोशी–११ तथा १२ का डाइभर्सन पुनर्निर्माण सुरु भएको छ। कान्ति राजमार्गको मकवानपुर खण्ड भने खुलेको छ।

सिद्धिचरण, मध्यपहाडी, कालीगण्डकी करिडोर, तमोर करिडोर, राप्ती र कर्णाली राजमार्ग पनि विभिन्न स्थानमा अवरुद्ध छन्, र तिनलाई खुलाउने काम भइरहेको छ। गण्डकी प्रदेश प्रहरीका अनुसार प्रदेशका १६ सडकखण्ड पूर्ण अवरुद्ध छन् भने कर्णाली प्रदेशमा सात सडकखण्डमा पहिरो खसेको छ। विभागले यात्राअघि सडकको पछिल्लो अवस्था बुझ्न आग्रह गरेको छ।

स्रोत

सम्बन्धित समाचार