आईसीसी एकदिवसीय वरीयतामा नेपाल एक स्थान उक्लिएर १६औँ स्थानमा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले बिहीबार सार्वजनिक गरेको पुरुष एकदिवसीय वरीयतामा नेपाल एक स्थान माथि उक्लिएर १६औँ स्थानमा पुगेको छ। आईसीसीका अनुसार नेपालले ३३ खेलबाट ९३९ अङ्क जोड्दै २८ रेटिङ बनाएको छ। अमेरिकामा जारी विश्वकप लिग–२ शृङ्खलामा नामिबिया आयोजक अमेरिकासँग पराजित भएपछि नेपालको स्थान सुधार भएको हो।
नामिबिया एक स्थान तल झरेर १७औँ स्थानमा पुगेको छ भने अमेरिका १५औँ स्थानमा छ। नेपालले गत सेप्टेम्बरमा फाइनलमा यूएईलाई पराजित गर्दै एसीसी प्रिमियर कप जितेपछि एकदिवसीय खेल खेलेको छैन। नेपालले अब ओमानको आयोजनामा हुने लिग–२ शृङ्खलामा आइतबार क्यानडासँग खेल्नेछ।
त्रिकोणात्मक उक्त शृङ्खलामा ओमान, नेपाल र क्यानडा सहभागी छन्। वरीयताको शीर्षमा भारत छ भने न्युजिल्यान्ड दोस्रो, दक्षिण अफ्रिका तेस्रो, अस्ट्रेलिया चौथो र पाकिस्तान पाँचौँ स्थानमा यथावत् छन्। इंग्ल्यान्ड छैटौँ, श्रीलंका सातौँ र अफगानिस्तान आठौँ स्थानमा छन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


