वर्षाले बाजुराको अनन्ते मेला प्रभावित

लगातारको वर्षाका कारण बाजुराको सदरमुकाम मार्तडीलगायत क्षेत्रमा लाग्ने अनन्ते मेलाको मिति सारिएको छ। असोज ११ र १२ गते लाग्ने तय भएको मेला अब असोज १५ र १६ गते लाग्नेछ। बडिमालिका नगरपालिका–८ का वडाध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा शनिबार बसेको सर्वपक्षीय बैठकले मिति परिवर्तनको निर्णय गरेको हो।
बैठकले वडाध्यक्ष थापाकै संयोजकत्वमा सात सदस्यीय मेला व्यवस्थापन समिति पनि गठन गरेको छ। मेला अवधिमा मदिरा बिक्री, वितरण वा सेवन गरी मेला बिथोल्न खोजेमा प्रचलित कानुनअनुसार कारबाही गरिने बैठकले जनाएको छ। बाजुरामा अनन्ते मेलालाई दसैँपछिको ठूलो पर्वका रूपमा मनाइन्छ।
स्थानीय जानकार शेरबहादुर रावलका अनुसार महाभारतको युद्धमा पाण्डवले कौरवमाथि विजय पाएको खुसीयालीमा यो मेला मनाइन्छ। तीनदेखि पाँच दिनसम्म चल्ने मेलामा लाखे नाच, मागल गीत र पाण्डवको युद्धकौशलबारे चर्चा हुने गर्छ। सोह्र श्राद्ध सुरु हुने दिनदेखि नै मेला सुरु हुने परम्परा छ।
अन्यायको अन्त्य भन्ने शब्द अपभ्रंश हुँदै अनन्ते नाम बनेको किंवदन्ती छ। पूर्णिमाका दिन अनन्त धारण गरी भजन कीर्तन र बाजुराका गाथामार्फत महापुरुषका कल्याणकारी कामको स्मरण गरिने रावलले बताएका छन्। आफन्तसँग भेटघाट र नयाँ मित्रताको सुरुआतका रूपमा पनि यो पर्व मनाउने चलन छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जनसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

