दसैंमा नआउने भयो ‘बाटुलो जून’, ‘बा: एक योद्धा’को प्रिमियर

अनमोल केसी अभिनीत चलचित्र ‘बाटुलो जून’ यस वर्षको दसैंमा प्रदर्शन नहुने भएको छ। निर्देशक भुवन केसीले बुधबार नयाँ पोस्टरसहित कात्तिक २६ गते अर्थात् भाइटीकाको भोलिपल्टदेखि चलचित्र हलमा आउने घोषणा गर्नुभएको छ। दसैंमा ‘१२ गाउँ २’, ‘आबाट आमा २’, ‘छ माया छपक्कै २’ र ‘कबड्डी ५’ गरी चारवटा चलचित्र प्रदर्शनमा आउने तय भइसकेको र थप अर्को पनि आउने भएपछि पर्दा बाँडफाँटमा समस्या हुने देखिएको हो।
प्रदर्शक तथा वितरकको सुझावलाई मध्यनजर गर्दै मिति परिवर्तन गरिएको र भिडन्तभन्दा सहकार्यमै नेपाली चलचित्र उद्योगको हित रहेको उहाँको भनाइ छ। यसअघि दसैंकै अवसरमा प्रदर्शन गर्ने तयारी गरिएको थियो। यता चलचित्र ‘बा : एक योद्धा’को काठमाडौंमा प्रिमियर सम्पन्न भएको छ।
क्युएफएक्स सिभिल महलमा मंगलबार साँझ भएको प्रिमियरपछि अभिनेता हरिवंश आचार्यले चलचित्रले बुवाआमाको त्याग र सन्तानको बदलिँदो व्यवहार देखाएको बताउनुभएको छ। हरिवंशले चलचित्रमा दिव्यदेवले निर्वाह गरेको बुवाको भूमिकाको प्रशंसा गर्दै आगामी पुस्ताले पनि यो चलचित्र हेर्नुपर्ने बताउनुभएको छ। पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले कथावस्तु, प्रस्तुति र सन्देश प्रभावकारी रहेको प्रतिक्रिया दिनुभएको छ।
अभिनेत्री ऋचा शर्माले दिव्यदेवको अभिनयको विशेष प्रशंसा गर्नुभएको छ। प्रिमियरमा सहभागीले चलचित्रको कथा नेपाली समाजका धेरै परिवारको यथार्थसँग जोडिएको बताएका छन्। उक्त चलचित्र शुक्रबारदेखि प्रदर्शनमा आउनेछ।
यसअघि नेपालगञ्ज, दाङ, धरान र बुटवलमा पनि प्रिमियर गरिएको थियो।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

