बाढी प्रभावित बालबालिकाको संरक्षण चुनौती, शिविरमा सुरक्षाको प्रश्न

रसुवाको भोटेकोशीमा आएको बाढीपछि बालबालिकाको संरक्षण चुनौतीपूर्ण बनेको सरोकारवालाले बताएका छन्। सरकारको प्रारम्भिक अनुमानअनुसार करिब १७ हजार बालबालिका प्रभावित भएका र झन्डै एक हजार दुई सय बालबालिका थप जोखिममा रहेका छन्। परिवारबाट अलग भएका बालबालिकालाई रसुवाको उत्तरगया गाउँपालिका र नुवाकोटको विदुर नगरपालिकास्थित होल्डिङ सेन्टरमा राखिएको छ।
कतिपय बालबालिकालाई सुरक्षित ठाउँमा सार्ने नाममा काठमाडौं र मुस्ताङका गुम्बासम्म पुर्याइएको छ। पालनपोषणका नाममा विभिन्न व्यक्ति तथा बालगृह त्यहाँ पुग्ने गरेको र जथाभावी स्थानान्तरणले बालबालिका थप जोखिममा पर्न सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरिएको छ। विपद्पछि बालबालिकाका लागि खाना, कपडा र आश्रय मात्र पर्याप्त नहुने पनि उल्लेख गरिएको छ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित शिविरमा महिला र बालबालिका पर्याप्त सुरक्षित नरहेको जानकारी आफूले पाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ। बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चले काठमाडौंमा सञ्चारकर्मीको सहभागितामा विपद्का समयमा बालबालिकाका सवालमा सञ्चारमाध्यमको भूमिकाबारे संवाद कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा विपद्को समाचारलाई प्रभावितको सङ्ख्यामा मात्र सीमित नगरी बालबालिकामाथि परेको प्रभावलाई केन्द्रमा राख्नुपर्ने जोड दिइएको छ।
गत भदौ १० गते गएको भोटेकोशी बाढीपछि बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र दैनिक जीवनमा परेको असरबारे खोजी गर्नुपर्नेमा सहभागीहरूको जोड थियो।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

