संरक्षण दिवस: चितवनमा गैँडा चोरी–शिकारमुक्त १ हजार ४२ दिन

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा चोरी–शिकारबाट जोगिएको अवधि बुधबार एक हजार ४२ दिन पुगेको छ। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका भनाइमा यस अवधिमा तस्करले एउटै गैँडा चोरी–शिकार गर्न पाएका छैनन्। निकुञ्जको सुरक्षामा कडाइ गरिएपछि यो अवस्था कायम भएको जनाइएको छ।
यसअघि विसं २०८० कात्तिक ३० गते निकुञ्जको पूर्वी सेक्टरमा तस्करले दुईवटा गैँडा चोरी–शिकार गरेका थिए। सो घटना पूर्वी चितवनको खैरहनी नजिकको चपरचुली इलाकामा भएको थियो। निकुञ्जका अनुसार आर्थिक वर्ष २०७७/७८ मा पाँच, २०७८/७९ मा दुई र २०७९/८० मा दुईवटा गैँडा चोरी–शिकारमा परेका थिए।
यता ललितपुरमा बुधबार बीसौँ राष्ट्रिय संरक्षण दिवस तथा दोस्रो राष्ट्रिय संरक्षण मञ्च आयोजना गरिएको छ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन क्षेत्रको विस्तार तथा बाघ र गैँडाको सङ्ख्या वृद्धि अन्तर्राष्ट्रिय रूपमा उदाहरणीय रहेको बताउनुभएको छ। नेपालसँग संरक्षणका लागि नीति, कानुन र संस्थागत संरचना रहेको उहाँको भनाइ छ।
सरकारले चालु आर्थिक वर्षदेखि मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रमलाई राष्ट्रिय बजेट प्रणालीमा समावेश गरेको उहाँले जानकारी दिनुभएको छ। द्वन्द्व न्यूनीकरण कार्यदलको प्रतिवेदनका आधारमा रणनीतिक योजना कार्यान्वयनमा ल्याइएको छ। प्रकृतिले प्रशासनिक सीमा नचिन्ने भएकाले संरक्षणमा तीनै तहका सरकार, स्थानीय समुदाय र सरोकारवालाबीच बलियो साझेदारी आवश्यक रहेको उहाँले औँल्याउनुभएको छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

