९ असोज २०८३ English
English

इन्द्रजात्रा सुरु: हनुमानढोकामा लिङ्गो ठड्याइयो, देवी नाच प्रदर्शन

· १ मिनेट पढाइ
इन्द्रजात्रा सुरु: हनुमानढोकामा लिङ्गो ठड्याइयो, देवी नाच प्रदर्शन
तस्बिर: थाहाखबर

काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा बुधबार लिङ्गो ठड्याएसँगै इन्द्रजात्रा औपचारिक रूपमा सुरु भएको छ। कालभैरव अगाडि ‘यसिँ थनेगु’ अर्थात् इन्द्रध्वजोत्थान गरिएको हो, जुन जात्राको मुख्य विधि मानिन्छ। बिहान करिब पौने आठ बजेको शुभ साइतमा परम्परागत बाजागाजा र धार्मिक विधिअनुसार पूजाआजासहित लिङ्गो ठड्याइएको छ।

उठाइएको काठको लिङ्गो करिब ३६ हात लामो रहेको जनाइएको छ। यस अवसरमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल, वडाध्यक्षलगायत जनप्रतिनिधि, स्थानीयवासी र श्रद्धालुको बाक्लो उपस्थिति रहेको थियो। यसिँमा अष्टमातृकाको प्रतीकका रूपमा आठवटा काठका टुक्रा राखिन्छन्, जसलाई ‘लाकासिँ’ भनिन्छ।

यसिँ ठड्याउने कार्यमा न्हय्स नाय र चस्वाद्वँ टोलका मानन्धर समुदायको उपस्थिति अनिवार्य हुन्छ। लिङ्गो उठाउने क्रममा गुर्जुको पल्टनले तोप पड्काएको र तलेजु भवानीको प्रतीकका रूपमा सेतो घोडा ल्याइएको थियो। वसन्तपुरस्थित शिव–पार्वती मन्दिरको प्राङ्गणमा ‘देव प्याखँ’ अर्थात् देवी नाच प्रदर्शन गरिएको छ।

नाचमा सहभागी कलाकारले विभिन्न देवीदेवता र दैत्यको मुकुण्डो लगाएका थिए। धिमे र भुस्या बाजाको ऊर्जावान् तालमा प्रस्तुत यो नाच हेर्न स्थानीय तथा विदेशी पर्यटकको भीड लागेको थियो। जात्राको पहिलो दिन भाद्र शुक्ल द्वादशी परेको छ।

येँया नामले समेत चिनिने यो पर्व काठमाडौं उपत्यकाको नेवार समुदायको महत्त्वपूर्ण सांस्कृतिक पर्व हो।

यो समाचार भिडियोमा

इन्द्रजात्रा सुरु: हनुमानढोकामा लिङ्गो ठड्याइयो, देवी नाच प्रदर्शन

स्रोत

सम्बन्धित समाचार