९ असोज २०८३ English
English

गाजा: रोडम्याप लागु गर्न तयार रहेको हमासको भनाइ, पुनर्निर्माण योजना सार्वजनिक

· १ मिनेट पढाइ
गाजा: रोडम्याप लागु गर्न तयार रहेको हमासको भनाइ, पुनर्निर्माण योजना सार्वजनिक
तस्बिर: रातोपाटी

गाजामा युद्धविरामपछिको रोडम्याप लागु गर्न आफू तयार रहेको हमासले जनाएको छ। हमासका प्रवक्ता हाजेम कासेमले बिहीबार जारी विज्ञप्तिमा अमेरिकी नेतृत्वको बोर्ड अफ पिससँग सहमत रोडम्यापका लागि आवश्यक सबै कदम चालिसकेको दाबी गरेका छन्। इजरायली सरकारले सम्झौता पालना नगरेकाले रोडम्याप अवरुद्ध भएको उनको आरोप छ।

बोर्ड र यसका प्रतिनिधि म्लादेनोभले इजरायललाई सम्झौता पालना गराउन नसकेको पनि उनले बताएका छन्। कासेमले प्राविधिक समितिलाई गाजा प्रवेश गराउन अमेरिकी प्रशासन र बोर्डलगायत सबै पक्षसँग आग्रह गरेका छन्। रोडम्याप कार्यान्वयनमा निशस्त्रीकरण प्रमुख विवादको विषय बनेको छ।

यसैबीच संयुक्त राष्ट्रसङ्घ महासभाको छेउमा बसेको बोर्डको बैठकले गाजा पुनर्निर्माणका लागि करिब २ अर्ब ४५ करोड अमेरिकी डलरको अल्पकालीन योजना घोषणा गरेको छ। उक्त रकम आगामी ६ महिनामा आवास, डिजेल, बिजुली उत्पादन र फोहोर व्यवस्थापनलगायत ६६ कार्यक्रममा खर्च गरिने छ। बोर्डका अनुसार पूर्ण पुनर्निर्माणका लागि आगामी १० वर्षमा करिब ७१ अर्ब ४० करोड डलर आवश्यक पर्छ।

हालसम्म करिब १८ अर्ब डलरको प्रतिबद्धता आए पनि करिब २८ करोड डलर मात्र हस्तान्तरण भएको बोर्डले स्वीकार गरेको छ। गाजा कार्यकारी बोर्डका सदस्य ज्यारेड कुस्नरले विभिन्न कारणले आयोजनामा केही ढिलाइ भएको स्वीकार गरेका छन्। बैठकमा सहभागी अमेरिकी दूत स्टिभ विट्कफले गत वर्षको तुलनामा उल्लेख्य प्रगति भएको दाबी गरेका छन्।

यो समाचार भिडियोमा

गाजा: रोडम्याप लागु गर्न तयार रहेको हमासको भनाइ, पुनर्निर्माण योजना सार्वजनिक

स्रोत

सम्बन्धित समाचार