पाल्पा कारागारका कैदीबन्दीबाट बाढीपीडितलाई ८३ हजार रुपैयाँ सहयोग

पाल्पा कारागारमा रहेका कैदीबन्दीले भोटेकोशी बाढीपीडितको राहत र उद्धारका लागि आर्थिक सहयोग गरेका छन्। कारागारका प्रशासक भगवानभक्त अर्यालका अनुसार कैदीबन्दीले करिब ८३ हजार रुपैयाँ सङ्कलन गरेका हुन्। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राष्ट्रिय वाणिज्य बैंकमार्फत जम्मा भइसकेको उहाँले जानकारी दिनुभएको छ।
कारागारमा हाल २३७ कैदीबन्दी छन्, जसमा २२४ पुरुष र १३ महिला छन्। उनीहरूले कारागारभित्रै मुढा, डोको, नाम्लो र बत्ती बनाउने तथा सिलाइँबुनाइजस्ता सीपमूलक काम गर्दै आएका छन्। त्यही कामबाट आर्जित रकमको केही अंश बाढीपीडितका लागि छुट्याइएको प्रशासक अर्यालले बताउनुभएको छ।
उहाँका अनुसार कैदीबन्दीले आफूहरू जहाँ रहे पनि समाजकै अङ्ग हौँ भन्ने भावनासहित रकम उठाएका हुन्। सहयोगको आकार सानो भए पनि विपद्का बेला पीडितप्रति देखाइएको समवेदना अर्थपूर्ण रहेको उहाँको भनाइ छ। यसैबीच बाढीपीडितको राहत र पुनःस्थापनाका लागि तनहुँका सामाजिक संस्थाले पनि रकम जुटाएका छन्।
अध्यक्ष ज्ञानबहादुर थापाका अनुसार नेपाल मगर सङ्घ भिमादले सदस्यबाट उठाएको करिब १ लाख ९५ हजार रुपैयाँ सहयोग गरेको छ। ढोर फिरफिरे तमु समाजले सदस्यबाट स्वैच्छिक रूपमा उठाएको करिब १ लाख ५६ हजार रुपैयाँ सहयोग गरेको अध्यक्ष नन्दलाल गुरुङले जानकारी दिनुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

