कांग्रेसले नयाँ केन्द्रीय समिति अद्यावधिक गर्न निर्वाचन आयोगमा विवरण बुझायो, थापा: तर्सिने बानी परेन

नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकका लागि सोमबार निर्वाचन आयोगमा बुझाएको छ। महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा आयोग पुगेको टोलीले प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको उपस्थितिमा आयोगका सचिव कृष्णप्रसाद काप्रीलाई विवरण हस्तान्तरण गरेको हो। सभापति गगनकुमार थापा नेतृत्वको नयाँ समितिका पदाधिकारी र केन्द्रीय सदस्यहरूको फोटोसहितको विवरण आयोगमा पेस गरिएको छ।
त्यससँगै विधान संशोधनको विवरण, महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज र निर्णयहरू पनि बुझाइएको छ। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ अनुसार केन्द्रीय समितिमा हेरफेर भएपछि आयोगलाई जानकारी दिनुपर्ने व्यवस्था छ। महाधिवेशन असोज १८ देखि २३ गतेसम्म काठमाडौँमा भएको थियो।
गत पुस अन्तिम साता भएको विशेष महाधिवेशनले पनि थापालाई नै सभापति चुनेको थियो। महामन्त्री पौडेलले महाधिवेशन विधि र कानुनअनुसार सम्पन्न भएको दाबी गर्दै आठ महिनाभित्र दुईवटा महाधिवेशन गरिएको उल्लेख गर्नुभएको छ। यसैबीच सभापति थापाले सोमबार साँझ ठीक ६ बजे फेसबुकमा ‘तर्साउने धेरै आए, तर्सिने बानी परेन’ भन्ने छोटो स्टाटस लेख्नुभएको छ।
आइतबार प्रधानमन्त्री बालेन्द्र शाहले ‘एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ’ भन्दै चेतावनीपूर्ण स्टाटस लेखेपछि थापाको टिप्पणी आएको हो। सामान्यतया लामा स्टाटस र भिडियो सन्देश राख्ने थापाले यसपटक छोटो शैली रोज्नुभएको छ। स्टाटसमा उहाँले प्रधानमन्त्रीको नाम भने उल्लेख गर्नुभएको छैन।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


