१७ कात्तिक २०८३ English
English

६२ वर्षको उमेरमा रुकुमपूर्वकी शान्तिदेवीले पाइन् नागरिकता

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
६२ वर्षको उमेरमा रुकुमपूर्वकी शान्तिदेवीले पाइन् नागरिकता

YouTube मा सब्स्क्राइब

रुकुमपूर्वको सिस्ने गाउँपालिका–७ नाथीगाडकी शान्तिदेवी नेपालीले ६२ वर्षको उमेरमा पहिलोपटक नेपाली नागरिकताको प्रमाणपत्र पाउनुभएको छ। २०२१ सालमा जन्मिनुभएकी उहाँलाई जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले नागरिकता प्रदान गरेको हो। नागरिकता नहुँदा उहाँ लामो समयसम्म राज्यले उपलब्ध गराउने सेवा र सुविधाबाट वञ्चित हुनुहुन्थ्यो।

प्रमाणपत्र पाएसँगै अब उहाँका लागि सामाजिक सुरक्षा भत्ता लिने बाटो खुलेको छ। विवाह गरेर रुकुमपूर्व आउनुभएकी शान्तिदेवीको माइतीतर्फ बुबाआमासहित परिवारका कोही सदस्य थिएनन्। त्यसैले नागरिकताका लागि चाहिने पारिवारिक विवरण र प्रमाण कागजात जुटाउन उहाँलाई कठिनाइ परेको थियो।

उहाँ आफन्तको सहयोग लिएर कागजात मिलाउने प्रयास गर्दै आउनुभएको थियो। केही समयअघि उहाँ जिल्ला प्रशासन कार्यालय पुगेपछि प्रशासनले उहाँको समस्या बुझेर आवश्यक प्रक्रिया अघि बढाएको थियो। आफन्तको सहयोग र प्रशासनको सहजीकरणमा करिब एक सातामै कागजात जुटाएर नागरिकता दिइएको हो।

प्रमुख जिल्ला अधिकारी कोपिला राईले माइतीतर्फ कोही नभएकाले आवश्यक कागजात जुटाउन केही समय लागेको बताउनुभएको छ। प्रशासन आफैँले पहल गरेर कागजात मिलाएपछि लामो समयदेखि नागरिकताविहीन रहनुभएकी शान्तिदेवीलाई नागरिकता दिलाउन सफल भएको उहाँले जानकारी दिनुभएको छ।

स्रोत

सम्बन्धित समाचार