१४ असोज २०८३ English
English

सुन्धारामा स्नानसँगै वसुन्धरा देवी व्रत समापन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
सुन्धारामा स्नानसँगै वसुन्धरा देवी व्रत समापन

YouTube मा सब्स्क्राइब

सुख, शान्ति र समृद्धिको कामना गर्दै मनाइने वसुन्धरा देवीको व्रत बुधबार बिहान काठमाडौंको सुन्धारामा स्नानसँगै सम्पन्न भएको छ। लुमधी भद्रकाली महिला समूह (निशा पुचः) ले आश्विन कृष्ण तृतीयाका दिन मंगलबार टेबहालको संकटा मन्दिर परिसरमा व्रत र पूजा आयोजना गरेको थियो। यो व्रत वसुन्धरा र स्वयम्भूमा पनि सामूहिक रूपमा बस्ने परम्परा छ।

सबलबहालका गुरु सिद्धिमुनि बज्राचार्यका अनुसार तृतीयामा व्रत बसेका बर्तालु चौथीको बिहान सुन्धारामा भेला भई स्नान गर्ने विधि छ। किंवदन्तीअनुसार राजा सुदर्शन कान्छी रानीको प्रभावमा परेर भोगविलासमा डुब्दा राज्यमा खडेरी परेको थियो। जेठी रानीले वसुन्धरा देवीको व्रत बसेपछि वर्षा भएको धार्मिक मान्यता छ।

भद्रकाली मन्दिरका पुजारी गणेशबहादुर महर्जनले भूकम्पपछिको पुनर्निर्माणपछि पनि सुन्धारामा पानी नआउँदा बाल्टीमा पानी बोकेर स्नान गर्नुपरेको गुनासो गर्नुभएको छ। उहाँका अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायत निकायमा गरिएको अनुरोधको नतिजा अझै आएको छैन। ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा पनि मंगलबार र बुधबार दुई दिन यो व्रतपूजा गरिएको छ।

महापाल सुधार समितिका उपाध्यक्ष ज्ञानेन्द्र शाक्यका अनुसार यसलाई कात्तिला व्रत वा धलं पनि भनिन्छ। उहाँले यो व्रतको मान्यताले शासकलाई जनताप्रति जिम्मेवार बन्न प्रेरित गर्ने बताउनुभएको छ। नेपाल संवतअनुसार यँलागाः तृतीयामा यो व्रत बस्ने चलन रहेको उहाँको भनाइ छ।

स्रोत

सम्बन्धित समाचार