उपत्यकामा चिनीको अभाव नभएको वाणिज्य विभागको दाबी
चाडपर्व नजिकिँदै गर्दा बजारमा चिनीको आपूर्ति पर्याप्त रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दाबी गरेको छ। विभागका अनुसार काठमाडौं उपत्यकामा भाटभटेनी, बिगमार्ट, सेल्सबेरीलगायत १ हजारभन्दा धेरै बिक्री केन्द्रले प्रतिकिलो ११० रुपैयाँमा चिनी बेचिरहेका छन्। पृथ्वी राजमार्गमा पहिरोले सडक अवरुद्ध भएको र भारतले चिनी निकासीमा प्रतिबन्ध लगाएको विषय जोडेर चाडपर्वमा अभाव हुने समाचार आएपछि विभागले बुधबार विज्ञप्ति जारी गरेको हो।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले यसबारे मङ्गलबार सरोकारवालासँग छलफल गर्नुभएको थियो। विभागका साथै साल्ट ट्रेडिङ कर्पोरेशन तथा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अधिकारीहरूले उपभोक्तालाई आवश्यकताभन्दा बढी चिनी किनेर नराख्न र बढी मूल्य नतिर्न आग्रह गरेका छन्। उपभोक्ताले भने पसलअनुसार प्रतिकिलो करिब १३० रुपैयाँ वा सोभन्दा बढी तिर्नुपरेको गुनासो गरेका छन्।
कालोबजारी र महँगो मूल्यबारे गुनासो आएपछि विभागले अनुगमन बढाएको छ। करिब १ महिनादेखि अनुगमन गर्दा कारबाही गर्नुपर्ने एउटा पनि घटना नभेटिएको विभागका अधिकारीहरूले बताएका छन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


