भक्तपुरले सरकारी पात्रो नमान्ने, म्हपूजा र भाइटीका एक दिनअघि नै

भक्तपुर नगरपालिकाले यस वर्ष सरकारी मान्यताप्राप्त पात्रोभन्दा एक दिनअघि नै म्हःपूजा र भाइटीका मनाउने निर्णय गरेको छ। पञ्चाङ्ग निर्णायक समितिको सिफारिसमा बनेको सरकारी पात्रोमा कात्तिक २४ गते म्हःपूजा र २५ गते भाइटीका उल्लेख छ। भक्तपुरमा भने कात्तिक २२ गते लक्ष्मीपूजा, २३ गते म्हःपूजा र २४ गते किजापूजा मनाइनेछ।
नेवार समुदायमा भाइटीकालाई किजापूजा भनिन्छ। नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा तलेजुका पुजारी, ज्योतिषी, कर्माचार्य तथा नवदुर्गा देवगण र जात्रा व्यवस्थापन समितिका पदाधिकारीसँग छलफल गरेपछि तान्त्रिक विधिअनुसार यो निर्णय भएको हो। नगरपालिकाले तिथि सुरु हुने ठ्याक्कै समयलाई आधार मानेर पर्वका मिति तोकेको हो।
आइतबार कात्तिक २२ गते बिहान १०:५४ बजेपछि औँसी तिथि लाग्ने भएकाले सोही दिन साँझ दीपावली गरी लक्ष्मीपूजा गरिनेछ। सोमबार बिहान ११:३३ बजेपछि प्रतिपदा तिथि लाग्ने भएकाले त्यस दिन साँझ म्हःपूजा हुनेछ। मङ्गलबार दिउँसो १२:४१ बजेपछि द्वितीया तिथि सुरु हुने भएकाले साँझ किजापूजा गरिने नगरपालिकाले जनाएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


