भारतीय राजदूत श्रीवास्तवको प्रधानमन्त्री शाहसँग बिदाइ भेट

नेपालमा आफ्नो कार्यकाल पूरा गर्न लाग्नुभएका भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री बालेन्द्र शाहसँग बिदाइ भेट गर्नुभएको छ। श्रीवास्तव मंगलबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्रीसँग भेट्नुभएको हो। प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा प्रधानमन्त्री शाहले नेपाल र भारतबीचको सम्बन्ध सधैँ मैत्रीपूर्ण र घनिष्ठ रहँदै आएको बताउनुभएको छ।
उहाँले रसुवामा हालै आएको बाढीलगायतका बाढीपहिरो र अन्य विपद्का बेला भारत सरकारले गरेको सहयोगप्रति विशेष आभार व्यक्त गर्नुभएको छ। नेपाल–भारत सम्बन्धलाई अझ गहिरो र बहुआयामिक बनाउन राजदूतले खेलेको भूमिकाप्रति पनि प्रधानमन्त्रीले धन्यवाद दिनुभएको छ। प्रधानमन्त्री शाहले श्रीवास्तवलाई सफल कार्यकाल पूरा गरेकोमा बधाई दिँदै भावी जीवनको शुभकामना दिनुभएको छ।
भेटमा दुई देशबीचको सम्बन्ध र आपसी सहकार्यका विषयमा पनि कुराकानी भएको बताइएको छ। राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल र भारतबीच धेरै विकास परियोजना सम्पन्न भएको प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको छ। उहाँले नेपाल बसाइका क्रममा साथ दिने नेपाल सरकार र नेपाली जनताप्रति विशेष धन्यवाद व्यक्त गर्नुभएको छ।
भेटका अवसरमा प्रधानमन्त्रीले राजदूतलाई एउटा मूर्ति उपहारस्वरूप दिनुभएको छ। राजदूत श्रीवास्तव आगामी केही दिनभित्रै भारत फर्कने कार्यक्रम छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


