पूर्वमन्त्री दीपक मनाङे कांग्रेस देउवा समूहमा प्रवेश, मनाङ संयोजकको जिम्मेवारी

गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ अर्थात् दीपक मनाङे नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहमा आबद्ध हुनुभएको छ। देउवा समूहले गठन गरेको महाधिवेशन आयोजक समितिका संयोजक तथा पार्टीका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले मंगलबार उहाँलाई औपचारिक रूपमा स्वागत गर्नुभएको हो।
पार्टी प्रवेशसँगै उहाँलाई आगामी महाधिवेशनका लागि मनाङ जिल्लाको आयोजक समितिको संयोजक बनाइएको कोइरालाको सचिवालयले जनाएको छ। मनाङे यसअघि मनाङबाट स्वतन्त्र उम्मेदवारका रूपमा गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो। प्रदेशसभा सदस्य रहँदा उहाँले प्रदेश सरकारमा मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो।
पछि उहाँ माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा सक्रिय हुनुभएको थियो। उक्त पार्टी नेकपामा समाहित भएपछि उहाँ निष्क्रिय रहनुभएको थियो। विगतमा उहाँले कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलमा रहेर काम गरिसक्नुभएको छ।
साउन २८ गते देउवा स्वदेश फर्किंदा मनाङे स्वागतका लागि विमानस्थल पुग्नुभएको थियो। कांग्रेसभित्र दुई पक्षले समानान्तर महाधिवेशनको तयारी गरिरहेका बेला यो प्रवेश भएको हो। गगन थापा नेतृत्वको संस्थापन पक्षले असोज १८ गतेबाट काठमाडौँमा १५औँ महाधिवेशन गर्ने तय गरेको छ।
देउवा पक्षले भने असोज १५ गते वडा अधिवेशन गर्दै मङ्सिर २१ देखि २३ गतेसम्म छुट्टै महाधिवेशन गर्ने तयारी गरेको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


