९ असोज २०८३ English
English

यस दसैँमा खाद्य कम्पनीले खसी–च्याङ्ग्रा नबेच्ने, उपत्यकामा ठूलो माग

· १ मिनेट पढाइ
यस दसैँमा खाद्य कम्पनीले खसी–च्याङ्ग्रा नबेच्ने, उपत्यकामा ठूलो माग
तस्बिर: बिजमाण्डू

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गत वर्षजस्तै यस दसैँमा पनि खसी, बोका र च्याङ्ग्रा खरिद–बिक्री नगर्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको यो कम्पनीले विगतमा बजार मूल्य नियन्त्रण गर्न दसैँमा उपत्यकामा सहुलियत दरमा चौपाया ल्याउने गर्थ्यो। कम्पनीकी निमित्त प्रमुख कार्यकारी अधिकृत शर्मिला न्योपाने सुवेदीका अनुसार यसपालि न कार्यक्रम तय भएको छ, न बजेट नै छुट्याइएको छ।

कम्पनीले विगतमा यसका लागि करिब ३ देखि ४ करोड रुपैयाँ छुट्याउने गरेको उहाँले जानकारी दिनुभएको छ। बजार अत्यधिक अस्थिर हुनु, कहिलेकाहीँ लामो समयसम्म चौपाया नबिक्नु र हरेक वर्ष घाटाको जोखिम रहनुलाई उहाँले यो व्यापारका चुनौती भनेर औँल्याउनुभएको छ। कलंकीस्थित चौपाया खरिद–बिक्री केन्द्रका अध्यक्ष जीवनराज खतिवडाका अनुसार यस दसैँमा उपत्यकामा करिब ३५ देखि ४० हजार चौपायाको माग हुने अनुमान छ।

तर उत्पादन घटेकाले अहिले नै बजारमा मागअनुसार खसीबोका आइपुगेका छैनन्। दसैँका लागि खसीबोका पाल्ने जिल्लामा पनि यसपालि उत्पादन पर्याप्त नभएको खबर आइरहेको उहाँले बताउनुभएको छ। केन्द्रले विभिन्न जिल्लाबाट उत्पादनको अवस्थाबारे जानकारी सङ्कलन गरिरहेको छ।

निजी क्षेत्रले मागअनुसार खसीबोका र च्याङ्ग्रा बजारमा ल्याउने तयारी गरिरहेको जनाएको छ।

यो समाचार भिडियोमा

यस दसैँमा खाद्य कम्पनीले खसी–च्याङ्ग्रा नबेच्ने, उपत्यकामा ठूलो माग

स्रोत

सम्बन्धित समाचार