सप्तकोशीको कटान: श्रीलङ्का टप्पुका सयौँ परिवार जोखिममा

सप्तकोशी नदीले धार बदलेर पश्चिमतर्फ कटान तीव्र बनाएपछि सुनसरी र उदयपुरको सिमानामा रहेका श्रीलङ्का टप्पु र चिलिया टप्पुमा बसोबास गर्ने ६०० भन्दा बढी परिवार उच्च जोखिमको अवस्थामा पुगेका छन्। कटान रोक्न बनाइएका १८ वटा स्परमध्ये ९ वटा नदीले पूरै बगाइसकेको छ। नदीको तीव्र बहावका कारण बाँकी स्पर पनि खतरामा रहेको कटान नियन्त्रण समितिका अध्यक्ष जयकुमार माझीले बताउनुभएको छ।
बराहक्षेत्र नगरपालिका–६ र ९ मा पर्ने यी बस्तीबाट केही दिनअघि २२ परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। विस्थापित कतिपय परिवार खुला चौरमा अस्थायी टहरा बनाएर बसिरहेका छन्। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नगर प्रहरीसँगै स्थानीय बासिन्दाले बाँस गाडेर र बालुवाका बोरा थपेर तटबन्ध जोगाउने काम गरिरहेका छन्।
स्थानीय बुद्धिमान माझीको करिब ५ देखि ७ बिघा र राकेशकुमार महतोको करिब ४ बिघा जमिन नदीले बगाइसकेको छ। कटानको डरले केही परिवार झापा र कोशीपारिको प्रकाशपुरतर्फ बसाइँ सरिसकेका छन्। बराहक्षेत्रका नगरप्रमुख रमेश कार्कीले विस्थापितलाई प्रतिपरिवार १० हजार रुपैयाँ तत्काल राहत दिइएको जानकारी दिँदै कटान रोक्ने काम स्थानीय तहको क्षमताभन्दा बाहिर पुगेको बताउनुभएको छ।
उहाँले दीर्घकालीन समाधानका लागि वैज्ञानिक अध्ययन र सङ्घीय सरकारको ठूलो बजेट चाहिने उल्लेख गर्नुभएको छ। बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीका अनुसार बलौटे माटोका कारण तारजाली र ढुङ्गाका संरचनासमेत बगिरहेका छन्।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

