१६ असोज २०८३ English
English

दसैँमा पशुमाथि हुने क्रूरता रोक्न सांसद तामाङको माग

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
दसैँमा पशुमाथि हुने क्रूरता रोक्न सांसद तामाङको माग

YouTube मा सब्स्क्राइब

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले दसैँमा बलिका नाममा पशुमाथि हुने क्रूर व्यवहार रोक्न सरकारसँग माग गर्नुभएको छ। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले मानिसका लागि उत्सव बन्ने दसैँ निर्दोष पशुका लागि 'दशा' बन्ने गरेको बताउनुभएको छ। दसैँ आउन करिब १० दिन मात्र बाँकी रहेको उल्लेख गर्दै उहाँले दुर्गाको आराधनाभन्दा खसी, बोका र राँगा काट्ने विषयमा बढी ध्यान जाने गरेको टिप्पणी गर्नुभएको छ।

सांसद तामाङका अनुसार खेतका आलीमा लखेट्ने, भीडमा तरबारले घोच्ने र लौरीले ढाडमा हिर्काउने जस्ता व्यवहार सार्वजनिक रूपमै हुने गरेका छन्। उहाँका अनुसार हरेक दसैँमा हजारौँदेखि लाखौँ पशुको सार्वजनिक रूपमा बलि दिइन्छ। आफू यस्तै दृश्य देख्दै हुर्किएको उहाँले सुनाउनुभएको छ।

विदेशमा पशुमाथि क्रूरता गरेबापत सजाय हुने कानुनी व्यवस्था रहेको उदाहरण दिँदै उहाँले नेपालमा पशु कल्याणसम्बन्धी कानुन कमजोर रहेको र त्यसको कार्यान्वयन प्रभावकारी नभएको प्रश्न उठाउनुभएको छ। पशुबाट उत्पादन र सेवा मात्र लिने तर तिनको संरक्षण र कल्याणमा ध्यान नदिने नीति पुनरावलोकन गर्नुपर्ने उहाँको भनाइ छ। पशु कल्याणसम्बन्धी कानुनी व्यवस्था प्रभावकारी बनाउँदै क्रूरता नियन्त्रणमा सरकार गम्भीर हुनुपर्ने भन्दै सांसद तामाङले ध्यानाकर्षण गराउनुभएको छ।

सार्वजनिक स्थलमा हुने अमानवीय दृश्य रोक्न पनि उहाँले आग्रह गर्नुभएको छ।

स्रोत

सम्बन्धित समाचार