भोजपुरका युवा गाउँमै कृषि र पशुपालनमा

भोजपुरमा विदेशबाट फर्किएका र गाउँमै रहेका युवा कृषि तथा पशुपालनलाई व्यवसाय बनाएर गाउँमै रोजगारी खोज्न थालेका छन्। उनीहरू व्यावसायिक रूपमा अलैँची, किवी, एभोकाडो, ओखर र चिराइतोखेतीसँगै बाख्रापालनमा लागेका छन्। केही युवाले विदेशमा सिकेको सीप र अनुभव गाउँको व्यवसायमा प्रयोग गरेका छन्।
टेम्केमैयुङ गाउँपालिका–५ चोलन्तीका पुस्कर विष्ट विदेशबाट फर्किएपछि करिब ६ वर्षदेखि व्यावसायिक बाख्रापालन गर्दै आउनुभएको छ। उहाँको 'पुस्कर कृषि तथा पशुपालन फार्म'मा बोयर र स्थानीय जातका बाख्रा पालिएका छन्। विदेशमा भन्दा आफ्नै ठाउँमा राम्रो आम्दानी भएको पुस्कर विष्टले बताउनुभएको छ।
मलेसियाबाट फर्किएका भीमराज विष्ट भोजपुर नगरपालिका–६ मा बाख्रापालनसँगै सुन्तला र कागतीखेती गर्दै आउनुभएको छ। गाउँमै व्यवसाय गरेर अरूका लागि उदाहरण बन्न सकिने भीमराज विष्टको भनाइ छ। अर्का युवा लाल विष्टले नयाँ र पुराना बगान गरी झन्डै ४० रोपनीमा अलैँची लगाउनुभएको छ।
अलैँचीको मूल्यमा सुधार आएपछि स्थानीय युवा व्यावसायिक खेतीतर्फ आकर्षित भएको उहाँले जानकारी दिनुभएको छ। लाल विष्टका अनुसार मिहिनेत गरे परिवारसँगै बसेर वार्षिक करिब ४ देखि ५ लाख रुपैयाँ कमाउन सकिन्छ। युवाको सक्रियतासँगै स्थानीय तहमा रोजगारी, उत्पादन र आम्दानी बढ्न थालेको उहाँको भनाइ छ।
आफ्नै जमिन र स्थानीय स्रोतसाधन प्रयोग गरी युवाले व्यवसाय सुरु गरेपछि गाउँको आर्थिक गतिविधि चलायमान बनेको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


