सुरक्षा निकायलाई पनि एलपी ग्यास बिक्री अनुमति दिने तयारी, आपूर्ति सहज हुँदै

सरकारले सेना र प्रहरीलगायत सुरक्षा निकायलाई पनि खाना पकाउने एलपी ग्यास बिक्री वितरणको अनुमति दिने तयारी गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले शुक्रबार राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा यो जानकारी दिनुभएको हो। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले अहिले पेट्रोलियम पदार्थ बिक्री गर्दै आएका छन्।
सचिव तामाङका अनुसार पेट्रोल बिक्री गर्ने सुरक्षा निकायसँग कम्तीमा एक–दुईवटा ग्यास आउटलेट भए संकटका बेला राज्यलाई आपूर्ति मिलाउन सजिलो हुन्छ। ग्यासको सम्भावित अभावलाई ध्यानमा राखेर आवश्यक प्रबन्ध मिलाइँदै गरेको उहाँले बताउनुभएको छ। सोही बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले ग्यास आपूर्ति क्रमशः सहज हुँदै गएको दाबी गर्नुभएको छ।
मन्त्री साहका अनुसार आपूर्तिको प्रमुख बाधक बनेको कृष्णभीरको पहिरो हटाउन दोब्बर जनशक्ति र मेसिन खटाइएको छ। एलपीजी लोडिङ, ढुवानी, भण्डारण र रिफिलिङदेखि उपभोक्तासम्म पुग्ने चरणका समस्या मन्त्रालयले पहिचान गरेको उहाँको भनाइ छ। ग्यास अभावको स्थायी समाधानका लागि सरकारले छोटो, मध्यम र लामो अवधिका गरी तीन तहको ऊर्जा सुरक्षा योजना तयार पारिरहेको उहाँले बताउनुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

