सिड्नीमा परराष्ट्रमन्त्री खनालको न्यू साउथ वेल्सका प्रिमियर र अस्ट्रेलियाली विदेशमन्त्रीसँग भेट

परराष्ट्रमन्त्री शिशिर खनालले अस्ट्रेलिया भ्रमणका क्रममा न्यू साउथ वेल्सका प्रिमियर क्रिस मिन्स र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ। सिड्नीमा भएको भेटमा प्रिमियर मिन्सले नेपालमा हालै आएको बाढी र विपद्ले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको थियो। विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणमा न्यू साउथ वेल्स सरकार सहयोग गर्न तयार रहेको उहाँले बताउनुभएको मन्त्रीको सचिवालयले जनाएको छ।
मन्त्री खनालले प्रभावित नेपालीप्रति ऐक्यबद्धता देखाएकामा त्यहाँका जनता, नेपाली डायस्पोरा र विभिन्न समुदायलाई धन्यवाद दिनुभएको छ। दुई पक्षबीच व्यापार, ऊर्जा, खानी, पूर्वाधार र प्राविधिक तथा व्यावसायिक शिक्षा अर्थात् टिभिइटीमा सहकार्यबारे कुराकानी भएको छ। मेलबर्नमा भएको भेटमा विदेशमन्त्री वङले बाढी प्रभावित परिवार र समुदायप्रति सहानुभूति जनाउँदै उद्धार, प्रारम्भिक पुनर्लाभ र पुनर्निर्माणमा अस्ट्रेलिया नेपालसँगै रहेको बताउनुभएको छ।
विपद्का बेला अस्ट्रेलियाले छिटो पठाएको मानवीय सहयोगप्रति मन्त्री खनालले आभार प्रकट गर्नुभएको छ। जलवायु परिवर्तनले नेपाल र प्रशान्त क्षेत्रका देशमा ल्याएको साझा जोखिम तथा शैक्षिक सहकार्य विस्तारबारे पनि दुवै मन्त्रीबीच छलफल भएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


