एमाले राष्ट्रिय भेला मंसिर २–३ मा, ३ हजार ३४७ जना सहभागी हुने

नेकपा एमालेले मंसिर २ र ३ गते आयोजना गर्ने राष्ट्रिय भेलाको तयारी तीव्र पारेको छ। तयारीका लागि मङ्गलबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दोस्रो बैठक बसेको छ। सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालको संयोजकत्वमा बसेको बैठकमा उपाध्यक्षद्वय विष्णु पौडेल र रघुजी पन्त, महासचिव शंकर पोखरेल तथा नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णु रिमाललगायत नेताको उपस्थिति थियो।
संगठन विभाग प्रमुख ढकालले बैठकमा भेलाको तयारी योजना प्रस्तुत गर्नुभएको छ। उपाध्यक्ष पौडेलले पार्टीको आन्तरिक जीवन, राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति तथा जनजीविकाका विषयमा कार्यकर्ताबीच एउटै बुझाइ बनाउनु भेलाको मुख्य उद्देश्य रहेको बताउनुभएको छ। केन्द्रीय कमिटीको तेस्रो बैठकले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने निर्णय गरेको उल्लेख गर्दै उहाँले भेलाले कार्यकर्तालाई आगामी स्थानीय तह निर्वाचनको तयारीमा जुटाउने विश्वास व्यक्त गर्नुभएको छ।
स्थानीय निर्वाचनमा एमालेले आफ्नो प्रभाव र क्षमता देखाउनुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ। भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्ला, स्थानीय तह र जनसङ्गठनका प्रतिनिधिसहित विभिन्न तहका जनप्रतिनिधि गरी ३ हजारभन्दा बढी सहभागी हुनेछन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


