कांग्रेस महाधिवेशन: ७ हजार ७ सय प्रतिनिधि, तामझाम निषेध, विधान संशोधन र २१ गतेदेखि निर्वाचन प्रक्रिया

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने भएका छन्। सानेपास्थित पार्टी कार्यालयमा शुक्रबार भएको पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ। उहाँका अनुसार असोज १८ गते काठमाडौँको खुलामञ्चमा उद्घाटन हुनेछ भने १९ र २० गते राष्ट्रिय सभागृहमा बन्दसत्र बस्नेछ।
बन्दसत्रले विधान संशोधनका प्रस्ताव पारित गरेपछि २१ र २२ गते निर्वाचन प्रक्रिया सुरु हुने तालिका छ। विधान संशोधन समितिका संयोजक महामन्त्री प्रदीप पौडेलले सुझाव सङ्कलन गरिरहनुभएको प्रवक्ता चालिसेले उल्लेख गर्नुभएको छ। विधानमा पूर्वसभापतिको स्थानबारे व्यवस्था नभएकाले त्यसबारे पनि छलफल हुने उहाँले बताउनुभएको छ।
देश विपत्को अवस्थामा रहेकाले महाधिवेशनमा झाँकी, सजावट र तामझाम नगरिने पार्टीले जनाएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जारी गरेको आचारसंहितामा फ्लेक्स, ब्यानर र पोस्टरलगायत छापिएका प्रचार सामग्रीमा पूर्ण रोक लगाइएको उल्लेख छ। उम्मेदवारले सामाजिक सञ्जाल र अनलाइन माध्यमबाट मात्र आफ्ना एजेन्डा सार्वजनिक गर्न पाउनेछन्, महाधिवेशनस्थलमा डिजिटल बोर्ड राखिनेछ।
प्रतिनिधिलाई बिहान, दिउँसो र बेलुकाको खाना भृकुटीमण्डपमा उपलब्ध गराइनेछ। बासका लागि एयरपोर्ट, गौशाला, ठमेल, कलंकी र नयाँ बसपार्क क्षेत्रमा समन्वय गरिए पनि त्यसको खर्च प्रतिनिधि आफैँले बेहोर्नुपर्नेछ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


