१६ असोज २०८३ English
English

भरतपुर, भेरी, डडेल्धुरा अस्पताल र वैद्यखाना विकास समितिमा नयाँ अध्यक्ष नियुक्त

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
भरतपुर, भेरी, डडेल्धुरा अस्पताल र वैद्यखाना विकास समितिमा नयाँ अध्यक्ष नियुक्त

YouTube मा सब्स्क्राइब

स्वास्थ्य मन्त्रालयले भरतपुर, भेरी र डडेल्धुरा अस्पताल तथा सिंहदरबार वैद्यखाना विकास समितिमा नयाँ अध्यक्ष नियुक्त गरेको छ। मन्त्रीस्तरीय निर्णयअनुसार भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा क्षितिज पौडेल तथा सदस्यमा अनिता खड्का र नवराज तिमिल्सिना नियुक्त हुनुभएको छ। भरतपुर १२ निवासी पौडेल ९ जना प्रतिस्पर्धीमध्येबाट छानिनुभएको हो।

उहाँ एक विकास बैंकमा ऋण अधिकृतका रूपमा कार्यरत हुनुहुन्छ। समितिको अध्यक्ष सामाजिक क्षेत्रमा सक्रिय व्यक्ति हुनुपर्ने व्यवस्था छ। भरतपुर अस्पताल संघीय सरकारअन्तर्गतको प्रमुख सरकारी अस्पताल हो।

नयाँ पदाधिकारीले बिरामीको चाप उच्च रहेको यस अस्पतालको पूर्वाधार, जनशक्ति र सेवा व्यवस्थापनमा समन्वय गर्ने जनाइएको छ। त्यसैगरी भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त हुनुभएको छ। भेरी अस्पताल विकास समिति (गठन) आदेश, २०७६ अनुसार रिक्त पदका लागि सूचना प्रकाशित गरी मन्त्रालयले १० जना उम्मेदवारको अन्तर्वार्ता लिएको थियो।

विज्ञ टोलीको सिफारिसका आधारमा सिग्देललाई जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ। डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त हुनुभएको छ। उहाँले शुक्रबार स्वास्थ्य मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

सिंहदरबार वैद्यखाना विकास समितिको नेतृत्व मुनकर्ण थापालाई सुम्पिइएको छ। उहाँको नेतृत्वमा वैद्यखानाको संस्थागत व्यवस्थापन र आयुर्वेदिक औषधि उत्पादन प्रभावकारी बनाउने अपेक्षा मन्त्रालयले राखेको छ।

स्रोत

सम्बन्धित समाचार