अधिवेशनको अन्तिम दिन सरकारमाथि राप्रपा र एमालेको कडा आलोचना

प्रतिनिधिसभाको चालु अधिवेशनको अन्तिम बैठकमा शुक्रबार प्रतिपक्षी दल राप्रपा र नेकपा एमालेले सरकारको ६ महिने कार्यकालको कडा आलोचना गरेका छन्। राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले आफ्नो दल सरकारको समर्थक भए पनि दास नभएको बताउनुभएको छ। भ्रष्टाचारीमाथि कारबाही गरे सडकदेखि संसद्सम्म साथ दिने तर गलत कदमको विरोध नछाड्ने उहाँको भनाइ छ।
जेनजी आन्दोलनका क्रममा भएको हिंसा तथा सिंहदरबार र संसद् भवन तोडफोडमा संलग्नलाई कारबाही गर्न सरकार उदासीन रहेको उहाँले आरोप लगाउनुभएको छ। एनसेल, गिरीबन्धु टी–स्टेट, भुटानी शरणार्थी र चिनियाँ विमान खरिद प्रकरणको छानबिन कहाँ पुग्यो भनेर उहाँले सरकारसँग जवाफ माग्नुभएको छ। युवा रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता अन्त्य गर्न स्वदेशमै उद्योग विकास गर्न र बाढीपीडितलाई राहत तथा पुनःस्थापना दिन पनि उहाँले आग्रह गर्नुभएको छ।
एमाले संसदीय दलका नेता रामबहादुर थापा 'बादल'ले सरकार फासीवादी बाटोतर्फ उन्मुख भएको आरोप लगाउनुभएको छ। सत्तापक्षले संवादभन्दा सङ्ख्याको बलमा निर्णय लाद्ने गरेको र विधेयकमा प्रतिपक्षका सुझाव नसमेटेको उहाँको भनाइ छ। गत निर्वाचनको पराजय स्वीकार गरे पनि त्यो आत्मसमर्पण नभएको उहाँले स्पष्ट पार्नुभएको छ।
एमाले सांसद नीता घतानीले पुरानो पुस्तालाई गाली गरेर देश नबन्ने भन्दै सरकार कामभन्दा स्टन्टमा केन्द्रित रहेको आरोप लगाउनुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


