गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ: सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले गुमाएको विश्वास फर्काउन नेता र कार्यकर्ता जनताको घरदैलोसम्म पुग्नुपर्ने बताउनुभएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित जिल्ला पार्टी कार्यालयमा सोमबार आयोजित स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो। “कांग्रेसले गुमाएको मत होइन, विश्वास हो,” सभापति थापाले भन्नुभयो।
विश्वास फर्किए मत आफैँ आउने उहाँको भनाइ छ। पार्टीबाट टाढिएका मतदातालाई भेटेर गुनासो सुन्न र कांग्रेसमा आएको परिवर्तन बुझाउन वडादेखि केन्द्रसम्मका नेता एकजुट हुनुपर्ने उहाँले जोड दिनुभयो। १५औँ महाधिवेशनपछिको परिवर्तनबारे जानकारी दिन आगामी मङ्सिरमा तल्लो तहसम्म जागरण अभियान चलाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो।
सभापतिमा निर्वाचित भएपछि पहिलो पटक सार्वजनिक रूपमा बोल्दै उहाँले आफू नेतृत्वमा काम गर्न आएको बताउनुभयो। आन्तरिक प्रतिस्पर्धामा पराजित भएकाले पनि नेतृत्वमा पुग्न पाउने र काम गर्न चाहनेले जिम्मेवारी पाउने उहाँले बताउनुभयो। पार्टीमा चार पुस्ता रहेको उल्लेख गर्दै आफूभन्दा ३० वर्ष जेठा र ३० वर्ष कान्छा नेता-कार्यकर्तालाई सँगै लैजाने जिम्मेवारी काँधमा आएको सभापति थापाले बताउनुभयो।
पार्टीमा आफ्नो कुनै स्वार्थ नभएको र आफूले चमत्कार गर्न नसक्ने पनि उहाँले बताउनुभयो। सबैलाई जिम्मेवारी बाँडेर पार्टीलाई एकताबद्ध बनाउने उहाँको भनाइ छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


