सांसद खगेन्द्र सुनारको अडियो प्रकरण: रास्वपाको छानबिन सुरु, सुनारको दाबी अडियो एआईले बनाइएको

राष्ट्रिय स्वतन्त्र पार्टी, रास्वपाले सांसद खगेन्द्र सुनारसँग जोडिएको विवादित अडियोबारे केन्द्रीय अनुशासन आयोगमार्फत छानबिन सुरु गरेको छ। एक महिलालाई अपशब्द प्रयोग गर्दै धम्की दिएको भनिएको अडियो सोमबार सार्वजनिक भएपछि पार्टीले यो कदम चालेको हो। रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले मंगलबार विज्ञप्ति जारी गर्नुभएको छ।
छानबिन नटुङ्गिएसम्म सुनारलाई सांसदको हैसियतमा औपचारिक कार्यक्रममा सहभागी हुन रोक लगाइएको विज्ञप्तिमा उल्लेख छ। आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईले प्रमाण सङ्कलन सुरु भएको बताउनुभएको छ। सुनार र सम्बन्धित महिला दुवैसँग कुरा गर्ने प्रयास भइरहेको पनि उहाँले बताउनुभएको छ।
उहाँका अनुसार हालसम्म औपचारिक उजुरी परेको छैन। प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले राज्यका निकायले अनुसन्धान गरे पार्टीले आवश्यक सहयोग गर्ने बताउनुभएको छ। सचेतक प्रकाशचन्द्र परियारले अडियो सुनारकै भएको पुष्टि भए पार्टीले उहाँको बचाउ नगर्ने स्पष्ट पार्नुभएको छ।
बाँके क्षेत्र नम्बर ३ का सांसद सुनारले भने फेसबुकमा भिडियो राख्दै अडियो एआई प्रविधिबाट बनाइएको दाबी गर्नुभएको छ। प्रहरीभित्रको भ्रष्टाचारबारे प्रश्न उठाएपछि आफूलाई निशाना बनाइएको उहाँको आरोप छ। उहाँले पार्टी र सरकारका छानबिनमा सहयोग गर्न तयार रहेको बताउनुभएको छ।
पार्टीको निर्देशनपछि सुनार दाङको सर्वेक्षण कार्यक्रम छाडेर फर्किनुभएको छ। अडियो साँच्चै उहाँकै हो कि होइन भन्ने आधिकारिक पुष्टि अझै भएको छैन।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


