एमालेको राष्ट्रिय भेला मङ्सिर २ र ३ गते काठमाडौँमा, तयारी सुरु

नेकपा (एमाले)ले मङ्सिर २ र ३ गते काठमाडौँमा हुने राष्ट्रिय कार्यकर्ता भेलाको तयारी थालेको छ। भेलाको तयारीका लागि पहिलो बैठक मङ्गलबार बसेको छ। उपमहासचिव लेखराज भट्ट प्रमुख अतिथि रहेको र सङ्गठन विभाग प्रमुख भानुभक्त ढकालले अध्यक्षता गरेको बैठकमा सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेत र उपत्यकाका कमिटी तथा जनसङ्गठनका नेता सहभागी थिए।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा असोज २२ देखि २५ गतेसम्म बसेको स्थायी कमिटीको पहिलो बैठकले भेला गर्ने निर्णय गरेको थियो। पार्टीको नीति, पारित दस्ताबेज र अहिलेको राजनीतिक अवस्थालाई आधार बनाएर भेला गर्न लागिएको उपमहासचिव भट्टले बताउनुभएको छ। ढकालका अनुसार भेला अभिमुखीकरणमूलक हुनेछ र मङ्सिर २ गते बिहान ११ बजे सुरु भई भोलिपल्ट साँझसम्म चल्नेछ।
भेलामा करिब ३ हजार १६४ जना सहभागी हुने एमालेले जनाएको छ। तीमध्ये पार्टीका ३४६ केन्द्रीय सदस्य र केन्द्रीय निकायबाट ८१ जना हुनेछन्। आठ प्रदेश कमिटी, भारत प्रवास र प्रवासी नेपाली मञ्चबाट ५५ जना भेलामा आउनेछन्।
प्रदेश र जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष तथा सबै तहका जनप्रतिनिधि पनि सहभागी हुनेछन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


