९ असोज २०८३ English
English

भोटेकोशी बाढीले कृषि क्षेत्रमा सवा तीन अर्बको क्षति, राहत प्याकेज प्रस्ताव

· १ मिनेट पढाइ
भोटेकोशी बाढीले कृषि क्षेत्रमा सवा तीन अर्बको क्षति, राहत प्याकेज प्रस्ताव
तस्बिर: क्लिकमाण्डू

रसुवामा भदौ १० गते आएको बाढीले पाँच जिल्लाको कृषि, पशुपन्छी र माछापालन क्षेत्रमा करिब ३ अर्ब २५ करोड रुपैयाँबराबरको प्रत्यक्ष क्षति पुर्‍याएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले राष्ट्रिय योजना आयोग र कृषि, वन तथा वातावरण मन्त्रालयसँग मिलेर गरेको द्रुत क्षति तथा आवश्यकता आकलनमा यो प्रारम्भिक विवरण उल्लेख छ। लेन्दे खोलाको जलाधारमा गएको हिमपहिरोपछि लेदोसहितको बाढी आएको थियो।

बाढीले भोटेकोशी, त्रिशूली र नारायणी नदी किनारका रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका खेतबारीमा असर पारेको छ। बालीनालीमा करिब १ अर्ब ९ करोड, पशुपन्छीमा करिब १ अर्ब ४५ करोड र माछा फार्म तथा पूर्वाधारमा करिब ७२ करोड रुपैयाँको नोक्सानी भएको प्रतिवेदनले जनाएको छ। सबैभन्दा बढी असर नुवाकोटमा परेको छ।

त्यहाँको विदुर नगरपालिकामा मात्र करिब ८० करोड रुपैयाँको बाली र पशुपन्छी नष्ट भएको छ। धादिङको बेनीघाट रोराङमा झन्डै २५ करोड रुपैयाँबराबरको पशुधन र बाली गुमेको छ। रसुवाका गोसाइँकुण्ड, उत्तरगया, कालिका र आमाछोदिङ्मो गाउँपालिकामा करिब ३२ करोड रुपैयाँबराबरको पशुधन सखाप भएको छ।

प्रभावित जिल्लामा करिब ६५ देखि ७२ प्रतिशत नागरिक खेती र पशुपालनमा निर्भर छन्। पुनःस्थापनाका लागि प्रतिवेदनले करिब साढे ४ अर्ब रुपैयाँको राहत तथा पुनर्लाभ प्याकेज प्रस्ताव गरेको छ।

स्रोत

सम्बन्धित समाचार